गगन र विश्वप्रकाशले मागे प्रधानमन्त्रीको राजीनामा, सरकारबाट हट्न देउवालाई चेतावनी

गगन र विश्वप्रकाशले मागे प्रधानमन्त्रीको राजीनामा, सरकारबाट हट्न देउवालाई चेतावनी

काठमाडौँ : सत्ताधारी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। सोमबार नयाँबानेश्वरमा भएको नरसंहारको विरोधमा देशभर आन्दोलन चर्किएपछि दुवै महामन्त्रीले संयुक्त विज्ञप्ति निकालेर ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन्।

एमाले र माओवादी नेतृत्वको सरकारको विकल्पमा एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा भएको सात बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै दुवैले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा गर्न सुझाव दिएका छन्। कांग्रेसका दुई मन्त्री रामनाथ अधिकारी र प्रदीप पौडेलले पदबाट राजीनामा दिइसकेका छन्।

उनीहरूले सरकार सही ढङ्गले चलेन, सच्चिनुपर्छ भनेर पार्टी बैठक, संसद्मा र सार्वजनिक स्थलमा पटक पटक आग्रह गर्दा पनि न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली नै सच्चिएको भन्दै प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पङ्क्तिमा असन्तुष्टि थप बढ्दै गएको बताएका छन्। सामाजिक सञ्जाल खोल्न, भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न सडकमा निक्लिएका जेनजी पुस्ता माथिको दमन निन्दनीय रहेको उनीहरूले उल्लेख गरेका छन्।

"तिनले कुनै कुर्सी मागेका थिएनन्। तर सरकारको अकर्मण्यताले होनहार युवाहरूले निर्मम मृत्यु वरण गर्नुपर्यो। ७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ। सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्यूलाई भर्खरै आग्रह गरेका छौँ। सभापतिज्यूले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौँ।" 

दुवै महामन्त्रीहरूले आन्दोलनमा उत्रिएको युवा पुस्ता लगायतलाई संयमित हुन समेत आग्रह गरेका छन्।

भदौ २४, २०८२ मंगलबार १४:३२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।