संघीय ससद् भवनमा प्रदर्शनकारी, लगाए आगो

काठमाडौं : जेन-जी आन्दोलनको नाममा सडकमा उत्रिएको हजारौंको भीड संघीय संसद भवन कब्जा गरी आगजनी गरेको छ।
सबै सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू संसद भवनभित्र प्रवेश गरेपछि राज्य संयन्त्र पूर्ण रूपमा ध्वस्त भएको छ र देश कब्जाको स्थितिमा पुगेको छ।
मन्त्रीहरूका घर, पार्टी मुख्यालय, पाँचतारे होटल र मन्त्री क्वाटरमा आगजनी गरेको भीड अन्ततः संसद भवन प्रवेश गरेका हुन्।
प्रहरीले चलाएको गोली, अश्रुग्याँस र रबरको गोलीका बावजुद भीड रोकिएन। उनीहरूले संसद भवनका ढोका र झ्यालहरू तोड्दै भित्र प्रवेश गरेका हुन्।
संसद भवनभित्रको दृश्य अभूतपूर्व र अराजक छ। सांसदहरू बस्ने कुर्सीहरूमा प्रदर्शनकारी बसेर नाराबाजी गरिरहेका छन्। सभामुख बस्ने रोस्ट्रमदेखि संसदका हरेक कुनामा युवाहरूको नियन्त्रण छ।
भवनभित्र तोडफोड भइरहेको छ र राज्यशक्तिको प्रतीकहरूलाई ध्वस्त पारिँदैछ। सुरक्षाकर्मीहरू पछि हटेका छन्। आकाशमा सेनाको हेलिकप्टर उडिरहे पनि भुइँमा राज्यको नियन्त्रण शून्य छ।
१९ युवाको हत्याबाट सुरु भएको यो विद्रोहले २४ घण्टा नबित्दै सिंगो राज्य संयन्त्रलाई नै घुँडा टेकाएको छ। अब देश कुन दिशामा जान्छ र यो अराजकताको अन्त्य कसरी हुन्छ भन्ने पूर्ण रूपमा अनिश्चित बनेको छ।
भदौ २४, २०८२ मंगलबार १४:३१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।