मन्त्री र नेताहरु सुरक्षाका लागि सेनाको ब्यारेकमा, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका घरमा तोडफोड

मन्त्री र नेताहरु सुरक्षाका लागि सेनाको ब्यारेकमा, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका घरमा तोडफोड
मीनभवनमा रहेको सरकारी कार्यालयमा भएको आगजनी। तस्बिर : उपेन्द्र खड्का

काठमाडौं : सोमबारको नयाँ पुस्ताको आन्दोलनमा भएको दमनको विरोधमा मंगलबार बिहानैबाट सुरु भएको आन्दोलन चर्किँदै गएपछि मन्त्री र उच्च पदमा रहेका अधिकारीहरू सेनाको सुरक्षा घेरामा बसेका छन्।

आन्दोलनमा सहभागीहरूले प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता र उच्च पदस्थ कर्मचारीको निवास केन्द्रित आन्दोलन अगाडि बढाएपछि सेनाले उनीहरूलाई हेलिकप्टर प्रयोग गरेर ब्यारेकमा लगेर राखेको छ।

भैसेपाटीमा रहेको मन्त्री निवासमा प्रदर्शनकारीहरूले आक्रमण र आगजनी सुरु गरेपछि सेनाले हेलिकप्टरबाट मन्त्रीहरूलाई ब्यारेकमा लगेर राखेको थियो। अन्य मन्त्रीहरू, मुख्यसचिव लगायतका उच्च पदस्थ कर्मचारी र नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका दलका नेताहरूलाई समेत सुरक्षा दिँदै सेनाले ब्यारेकमा लगेर राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली उच्च सुरक्षा घेराकाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छन्। महाराजगन्जमा रहेको राष्ट्रपति निवासको सुरक्षा संरचनालाई समेत थप कसिलो बनाइएको छ। राष्ट्रपति पूर्ण सेनाको घेरामा रहेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठमा रहेको निवासमा प्रदर्शनकारीहरूले आगो लगाइदिएका छन्। उच्च स्रोतका अनुसार देउवा बिहानैबाट निवासमा छैनन्। बोहोराटारमा रहेको राष्ट्रपति रामचन्द्र पौडेलको घरमा समेत प्रदर्शनकारीहरूले तोडफोड गरेर सामान जलाइदिएका छन्।

बालकोटमा रहेको प्रधानमन्त्री ओलीको निजी घरमा समेत तोडफोड भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा समेत प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए। कांग्रेस महामन्त्री गगन थापाको घरमा समेत प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।

स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका प्रदीप पौडेलको शंखमुलमा रहेको घरभित्रै छिरेर प्रदर्शनकारीहरूले तोडफोड गरे। नैकापमा रहेको गृहमन्त्रीबाट सोमबार राजीनामा दिएका रमेश लेखकको घर, अर्थमन्त्री विष्णु पौडेलको भैंसेपाटीमा रहेको घर र संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा समेत प्रदर्शनकारीहरूले आक्रमण गरेका छन्।

भदौ २४, २०८२ मंगलबार १४:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।