बानेश्वर नरसंहारको विरोधमा रास्वपाका सबै २१ सांसदद्वारा सामूहिक राजीनामा

बानेश्वर नरसंहारको विरोधमा रास्वपाका सबै २१ सांसदद्वारा सामूहिक राजीनामा

काठमाडौं : जेन-जी आन्दोलनमा भएको बर्बर दमन र १९ युवाको हत्यापछि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय प्रणालीबाटै बाहिरिने घोषणा गर्दै आफ्ना सबै २१ जना सांसदहरूको सामूहिक राजीनामा दिएको छ।

रास्वपा संसदीय दलले एक विज्ञप्ति जारी गर्दै सरकारले निहत्था नवयुवाहरूको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनमाथि पहिलो प्रहरमै ‘आमहत्या’ गरेको भन्दै यस्तो ‘आततायी शासन’ को साक्षी बस्न नसकिने बताएको छ।

‘आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्प्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा सरकारको औचित्य समाप्त भएको भन्दै ६-बुँदे प्रस्ताव अघि सारिएको छ। जसमा प्रधानमन्त्रीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन, अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गरेको छ।

यस्तै प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिएर कडा कारबाहीको माग, संविधान संशोधनको प्रक्रिया आरम्भ, ठूला भ्रष्टाचार काण्डहरूको छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन छन्।

वर्तमान संसदले राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्ष निकाल्दै रास्वपाले ‘अन्तरिम नागरिक सरकार’ गठनको प्रस्ताव गरेको छ। पार्टीले सरकारद्वारा हत्या गरिएका जेनजी योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको पक्षमा र आन्दोलनको मागप्रति पूर्ण समर्थन जनाएको छ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा संसदीय दलको नेता रवि लामिछाने सहित २१ जना सांसदहरूले नै सामूहिक राजीनामा दिने निर्णयमा ऐक्यबद्धता जनाएको उल्लेख छ।

१९ युवाको मृत्युको भोलिपल्ट आज राजधानी लगायत देशभर हिंसा फैलिएको छ। मन्त्रीहरूका घर, एमाले र कांग्रेसका केन्द्रीय कार्यालय, हिल्टन होटल र मन्त्री क्वाटरमा समेत आगजनी भएको छ। सडकमा गोली चलिरहेको छ भने आकाशमा सेनाको हेलिकप्टरले गस्ती गरिरहेको छ।

भदौ २४, २०८२ मंगलबार १४:१४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।