मुख्य चोक सुरक्षाकर्मीहिन, आकाशबाट निगरानी गर्दै सरकार

काठमाडौं : स्थानीय प्रशासनले लगाएको कर्फ्यु उलङ्घन गर्दै निरन्तर आन्दोलन सुरु भएपछि सरकारले हेलिकप्टरबाट आन्दोलनस्थलको निगरानी सुरु गरेको छ। काठमाडौँमा रिङरोड क्षेत्रभित्र कर्फ्यु घोषणा गरे पनि मुख्य चोकहरूमा भेला भएर प्रदर्शनकारीहरू भित्री शहरी क्षेत्रतिर लागिरहेका छन्। रिङरोडको मुख्य चोकहरू सुरक्षाकर्मीहिन छन्।
उनीहरूले निरन्तर सरकार र सोमबार भएको घटनाको आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका छन्। प्रदर्शनकारीहरूले युवा पुस्ताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सोमबारको घटनामा संलग्नहरूमाथि कारबाहीको माग समेत गरिरहेका छन्।
क्षेत्रबाहिरबाट ठूलो सङ्ख्यामा युवापुस्ता विरोध प्रदर्शन गर्दै भित्री शहरी क्षेत्रतर्फ लागिरहेका छन्। जोरपाटी, बौद्ध क्षेत्रका स्थानीयहरू भेला भएर चावहिल चोकहुँदै गौशाला पुगेका छन्। कपन, महाराजगन्ज क्षेत्रका स्थानीय पनि चाबहिल आएका छन्।
गोङ्गबु क्षेत्रमा समेत स्थानीय भेला भएर विरोध प्रदर्शन गरिरहेका छन्। सधैँ आन्दोलनको केन्द्र बन्ने गरेको कलंकीमा बिहानैबाट स्थानीय भेला भएर टायर बाल्दै विरोध प्रदर्शन गरिरहेका छन्। कोटेश्वर, नयाँबानेश्वर क्षेत्रमा समेत प्रदर्शनकारी भेला भएर प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्। उनीहरूले हत्यारा सरकार राजीनामा दे भन्दै चर्को नाराबाजी गरिरहेका छन्।
भदौ २४, २०८२ मंगलबार १३:५४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।