नक्साल क्षेत्रमा पछिल्लो १० मिनेटदेखि लगातार गोलीको आवाज आइरहेको छ

काठमाडौं : काठमाडौंमा जारी अराजकताको आगो अब देशको प्रमुख सुरक्षा निकाय नेपाल प्रहरीको केन्द्रीय कार्यालय पुगेको छ।
प्रहरी प्रधान कार्यालय रहेको नक्साल क्षेत्रमा पछिल्लो १० मिनेटदेखि निरन्तर गोली चलिरहेको छ। लगातारको गोलीको आवाजले उक्त क्षेत्रका स्थानीय बासिन्दा र प्रदर्शनकारीमाझ आतंक फैलिएको छ।
नक्साल क्षेत्रमा प्रहरी प्रधान कार्यालय अवस्थित छ, जहाँबाट देशभरको शान्ति सुरक्षाको कमाण्ड सञ्चालन हुन्छ। गोली कसले चलाएको हो, प्रदर्शनकारी वा प्रहरी, भन्ने यकिन भइसकेको छैन।
यसअघि प्रदर्शनकारीले हिल्टन होटलमा आगजनी गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानी रहेको चर्चाका कारण यो होटल प्रदर्शनकारीको आक्रोशको केन्द्र बनेको हो।
सरकारले लगाएको कर्फ्यू र आकाशमा सेनाको हेलिकप्टरको गस्तीका बावजुद राजधानीका सडकमा हिंसा रोकिएको छैन। बरु, यो एकपछि अर्को गर्दै राज्यका महत्त्वपूर्ण र संवेदनशील स्थानहरूमा फैलिरहेको छ।
भदौ २४, २०८२ मंगलबार १३:५३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।