भैँसेपाटीस्थित मन्त्री क्वार्टरमा आगजनी

काठमाडौं : जेन-जी आन्दोलनको नाममा भएको आक्रोशित प्रदर्शनकारीको भीडले ललितपुरको भैँसेपाटीस्थित उच्च सुरक्षा क्षेत्र मानिने मन्त्री क्वाटर परिसरभित्रै प्रवेश गरी आगजनी गरेको छ।
मन्त्रीहरूको सरकारी निवास रहेको यहाँ यसअघि नेपाली सेनाको हेलिकप्टर गएर उनीहरूलाई सुरक्षित स्थानमा निकालेको थियो। आगजनीपछि मन्त्री क्वाटर क्षेत्रमा धुवाँको बाक्लो मुस्लो उठेको छ र त्यहाँ भागदौड मच्चिएको छ।
विहान कर्फ्यू तोड्दै चोक-चोकमा टायर बालेर प्रदर्शन गरेकाे जेन-जीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, ऊर्जामन्त्री दीपक खड्का, नेता गोकुल बास्कोटाका निजी निवासमा आगजनी गरेका थिए।
केहीबेरअघि एमाले र कांग्रेसका केन्द्रीय कार्यालय तथा हिल्टन जस्तो पाँचतारे होटलमा आगजनी गरे भने बालकोटस्थित प्रधानमन्त्री निवासतर्फ बढेको भीडमाथि गोलीबारी गरेको थियो। अहिले अब राज्यको कार्यकारी शक्तिको केन्द्र, मन्त्री क्वाटरमा नै आगजनी भएको छ।
यो सम्पूर्ण घटनाक्रम भइरहँदा काठमाडौंको आकाशमा सेनाको हेलिकप्टरले निरन्तर गस्ती गरिरहेको थियो। तर, आकाशबाट भइरहेको निरीह अनुगमनले भुइँमा फैलिएको आगोलाई रोक्न सकेन।
भदौ २४, २०८२ मंगलबार १३:४०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।