देउवाको छोराको नाम जोडिएको हिल्टन होटलमा आगजनी

काठमाडौं : जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरको लगानी भएको दाबी गरिएको हिल्टन होटलमा आगजनी गरेको छ।
सरकार, नेता र पार्टी कार्यालयपछि अब आक्रोशित भीडको निशानामा प्रतिष्ठित अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठान परेको छ।
‘हिल्टन हान्ने’ भन्दै कालोपुलबाट अघि बढेको प्रदर्शनकारीको समूहले काठमाडौंस्थित पाँचतारे हिल्टन होटलमा आगजनी गरेको छ।
प्रत्यक्षदर्शीका अनुसार, प्रदर्शनकारीको समूहले होटलको तल्लो तलाको सिसा फुटाएर भित्र प्रवेश गरी आगो लगाएको हो। आगजनीपछि होटल वरपरको आकाशमा धुवाँको बाक्लो मुस्लो देखिएको छ।
बिहानैदेखि मन्त्री, शीर्ष नेताका निवास र प्रमुख दलका मुख्यालयमा आगजनी गरिरहेको भीडले अब देउवाको छोराको नाम जोडिएको हिल्टन पनि छाडेनन्।
कर्फ्यूका बावजुद दिनभरि देशव्यापी रूपमा हिंसात्मक घटनाहरू भइरहेका छन्। आकाशमा सेनाको हेलिकप्टरले गस्ती गरिरहे पनि सडकमा भीड नियन्त्रण गर्न सकेको छैन।
भदौ २४, २०८२ मंगलबार १३:२५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।