जेन-जी आन्दोलनको स्वामित्व लिँदै ‘हामी नेपाल’को अल्टिमेटम : प्रधानमन्त्रीले राजीनामा देऊ, युवा सम्मिलित अन्तरिम सरकार बनाऊ

जेन-जी आन्दोलनको स्वामित्व लिँदै ‘हामी नेपाल’को अल्टिमेटम : प्रधानमन्त्रीले राजीनामा देऊ, युवा सम्मिलित अन्तरिम सरकार बनाऊ

काठमाडौं : अराजक र हिंसात्मक बन्दै गएको जेन-जी आन्दोलनको औपचारिक संस्था भएको दाबी गर्ने ‘हामी नेपाल’ ले आन्दोलनलाई थप सशक्त बनाउन आह्वान गर्दै सरकारसमक्ष मागहरू प्रस्तुत गरेको छ।

आफ्नो आधिकारिक फेसबुक पेजबाट भिडियो सन्देश जारी गर्दै समूहले प्रधानमन्त्रीको तत्काल राजीनामादेखि युवा सम्मिलित अन्तरिम सरकार गठनसम्मको अल्टिमेटम दिएको हो।

सरकारले आन्दोलनलाई दमन गर्न सक्ने भन्दै ‘हामी नेपाल’ ले सबैलाई आन्दोलनमा निरन्तर जुट्न आह्वान गरेको छ।

एक सदस्यले भिडियो सन्देशमा भनेका छन्, ‘यो सरकारले हाम्रो भाइबहिनी मारेको छ, त्यसैले यो सरकारको कुनै नैतिकता छैन, तत्कालै राजीनामा दिनुपर्छ।’

समूहले प्रधानमन्त्रीको मात्र नभई, सबै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले पनि तत्कालै पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ।

समूहले देशमा देखिएको संकट समाधानका लागि युवा सम्मिलित अन्तरिम सरकार बनाउनु पर्ने माग अघि सारेको छ। साथै, उनीहरूले निहत्था बालबालिका र युवामाथि गोली हान्ने प्रत्येक सुरक्षाकर्मीलाई पहिचान गरी कारबाही हुनुपर्ने माग राखेका छन्।

जेन-जी आन्दोलन पूर्ण रूपमा अनियन्त्रित भई मन्त्री र नेताका घरहरूमा आगजनी तथा पार्टी मुख्यालयमा तोडफोड भइरहेको बेलामा यस्तो आह्वान भएको हो।

कुनै स्पष्ट नेतृत्व र माग बिनाको भीड अराजक बन्दै गएको अवस्थामा ‘हामी नेपाल’ ले आफूलाई आन्दोलनको आधिकारिक संस्थाको रूपमा दाबी गरेको छ।

भदौ २४, २०८२ मंगलबार १३:१३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।