सुर्खेतमा तीन दलका पार्टी कार्यालयमा तोडफोडपछि आगजनी

सुर्खेत : सुर्खेतमा आन्दोलनरत जेन-जी आन्दोलनकारीहरूले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय सुर्खेतमा तोडफोडसँगै आगजनी गरेका छन्।
उनीहरूले पार्टी कार्यालयका सटर तोडेर फर्निचर र कागजातहरू सडकमा फ्याँकेर जलाएका छन्। आन्दोलनकारीहरू अन्य राजनीतिक दलका पार्टी कार्यालयहरूमा समेत तोडफोडमा उत्रेका छन्।
आइतबारको आन्दोलनमा सरकारको अत्याधिक बल प्रयोगबाट १९ जनाको मृत्यु भएको विरोधमा उत्रिएका जेन-जीहरू जिल्ला स्थित पार्टी कार्यालयअघि पुगेर तोडफोडमा उत्रिका छन्।
सोमबार बिहान कर्णाली प्रदेशसभा र मुख्यमन्त्रीको सरकारी निवासअघि विरोध प्रर्दशन थालेका जेन-जीहरूले अहिले राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड गरिरहेका छन्। उनीहरूले तीनै दलका शीर्ष नेताहरूको चर्को विरोध गरिरहेका छन्।
यस्तै उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन्। आइतबार सामाजिक सञ्जाल बन्दको विरोधसँगै भ्रष्टाचार र बेथितिविरुद्ध जेन-जीले थालेको आन्दोलनमा सरकारले बल प्रयोग गर्दा हिंसात्मकरुप लिइरहेको छ।
भदौ २४, २०८२ मंगलबार १२:५८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।