जेन-जी आन्दोलन : मन्त्री र नेताका घर, पार्टी मुख्यालयमा आगजनी; आकाशमा सेनाको हेलिकप्टर, सडकमा गोली

जेन-जी आन्दोलन : मन्त्री र नेताका घर, पार्टी मुख्यालयमा आगजनी; आकाशमा सेनाको हेलिकप्टर, सडकमा गोली

काठमाडौं : सरकारको निर्देशनमा भएको प्रहरी दमनमा १९ युवाको हत्यापछि देशभरका शहरमा प्रदर्शन र आगजनीका  घटना बाहिर आएका छन्।

सरकारले लगाएको कर्फ्यू र दमनलाई तोड्दै देशव्यापी रूपमा फैलिएको जेन-जी आन्दोलनले प्रतिशोधपूर्ण विद्रोहको रूप लिएको छ।

आक्रोशित भीडले मन्त्रीहरूका घर, शीर्ष नेताका निवास र प्रमुख दलका केन्द्रीय कार्यालयहरूमा आगजनी र तोडफोड गरेको छ।

स्थितिको भयावहता यति बढेको छ कि काठमाडौंको आकाशमा सेनाको हेलिकप्टरले गस्ती गरिरहेको छ भने सडकमा गोली चलिरहेको छ।

नेताका घर र पार्टी मुख्यालय आगोको चपेटामा
आन्दोलनको दोस्रो दिनको निशानामा शीर्ष राजनीतिक नेतृत्व परेको छ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको सुनाकोठीस्थित निवास र कांग्रेस नेता तथा ऊर्जामन्त्री दीपक खड्काको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मन्त्री खड्काको घरबाट पैसासमेत उडाएको दृश्य देखिएको थियो।

प्रदर्शनकारीको भीड प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढ्दा गोली चलेको छ, जसमा दुई जना घाइते भएका छन्।

माओवादी अध्यक्ष प्रचण्डको खुमलटार निवासमा गेट तोडफोड भएको छ भने कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारी छतसम्मै पुगेर नक्सा देखाउँदै सांकेतिक विरोध गरेका छन्।

आक्रोशित भीडले च्यासलस्थित एमालेको केन्द्रीय कार्यालय र सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड गरेको छ, जसले आन्दोलन समग्र राजनीतिक प्रणालीविरुद्ध सोझिएको स्पष्ट पारेको छ।

लोकन्थलीस्थित एमाले नेता गोकुल बास्कोटाको घर र कांग्रेस महामन्त्री गगन थापाको गाडीमा पनि आगजनी गरिएको छ।

आन्दोलनको आगो देशभरि
यो विद्रोह काठमाडौंमा मात्र सीमित छैन। रौतहटका कांग्रेस सांसद देव प्रसाद तिमल्सिनाको घरमा तोडफोड र आगजनी गरिएको छ भने चन्द्रनिगाहपुरमा प्रहरीको गाडी जलाइएको छ।

मकवानपुरमा एमाले र कांग्रेस दुवै पार्टीका जिल्ला कार्यालयमा आगजनी र तोडफोड भएको छ।

रुपन्देहीमा हिजो कांग्रेस नेता बालकृष्ण खाँणको घरमा तोडफोड भएको थियो भने आज निषेधाज्ञा तोड्दै सैनामैना नगरपालिका घेराउ भएको छ।

अर्घाखाँचीमा युवाहरूले ‘हामीलाई बालेन चाहिन्छ’ भन्दै रास्वपा कार्यालयमा तोडफोड गरेका छन्, जसले आन्दोलन वैकल्पिक शक्तिप्रति पनि असन्तुष्ट रहेको देखाएको छ।

नागरिक क्षेत्रबाट समर्थन, राज्य संयन्त्र संकटमा
एकातिर सडकमा हिंसा फैलिएको छ भने अर्कोतिर नागरिक क्षेत्रबाट आन्दोलनप्रति समर्थन बढ्दो छ।

पाटन अस्पतालका चिकित्सकहरूले जेनजीको समर्थनमा प्रदर्शन गरेका छन्। राष्ट्रिय टेबल टेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठले राज्य दमनको विरोधमा आर्मी, पुलिस र एपीएफ जस्ता कुनै पनि विभागीय टिमबाट नखेल्ने घोषणा गरेकी छन्।

भदौ २४, २०८२ मंगलबार १२:४५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।