राजीनामाको तयारीमा रास्वपाका सांसद, प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं : आन्दोलनमा उत्रिएको नयाँ पुस्ताको सहभागीतासहितको नयाँ सरकारको माग राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले राजीनामा दिने तयारी गरेका छन्। राजीनामाबारे निर्णय गर्न रास्वपाको संसदीय दलको बैठक बसिरहेको छ। सहकारी ठगीको आरोपमा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेले सोमबार राजीनामाका लागि तयार रहन आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए।
सोमबार नयाँबानेश्वरमा नयाँ पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा रास्वपाले समर्थन गर्दै आफ्ना नेता तथा कार्यकर्ताहरूलाई पार्टीको पहिचान खुल्ने सामग्री प्रयोग नगरी सहभागी हुन भनेको थियो। सो प्रदर्शन हिंसात्मक हुँदै १९ जनाको मृत्यु भएपछि मंगलबार त्यसको विरोधमा देशभर प्रदर्शन भइरहेको छ।
सोमबारको घटनाको विरोधमा सरकारमा रहेको नेपाली कांग्रेस शेखर कोइराला पक्षका दुई मन्त्रीले राजीनामा दिइसकेका छन्। कांग्रेस महामन्त्री गगन थापाले पार्टी सरकारबाट बाहिरिनुपर्ने माग राखेका छन्। तर पार्टीले कुनै निर्णय गरेको छैन। बदलिएको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मंगलबार बेलुका ६ बजे सर्वदलीय बैठक बोलाएका छन्।
भदौ २४, २०८२ मंगलबार १२:२१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।