जेनजीको समर्थनमा देशभर फैलियो आन्दोलन, भित्री शहरमा सुरक्षाकर्मी, मुख्य चोकमा प्रदर्शनकारी

काठमाडौं : नयाँ पुस्ताको प्रदर्शनमा भएको सरकारी दमनको विरोधमा मंगलबार देशभर विरोध प्रदर्शन सुरु भएको छ। भ्रष्टाचार विरुद्ध जेनजीको रूपमा परिचित युवापुस्ताले नयाँबानेश्वरमा आयोजना गरेको विरोध प्रदर्शन संसद् भवन केन्द्रित भएपछि सुरक्षाकर्मीले अधिक बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो भने तीन सय बढी घाइते भएका थिए।
त्यसको विरोधमा मंगलबार विरोध प्रदर्शन सुरु भए लगत्तै सरकारले मुख्य शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएन। मुख्य सडक मार्गमा सुरक्षाकर्मी खटिएपछि आक्रोशित प्रदर्शनकारीहरूले मुख्य दलका कार्यालय, मुख्य नेताहरूको निवास केन्द्रित आन्दोलन सुरु गरेका छन्।
कर्फ्यु आदेश जारी भए पनि सोमबार नरसंहार भएको नयाँबानेश्वर क्षेत्रमा विद्यार्थीसँगै अभिभावकहरू समेत सडकमा उत्रिएका छन्। काठमाडौंमा रिङरोड क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेपछि रिङरोड बाहिर प्रदर्शन भइरहेको छ।
काठमाडौंमा २०४६ अनि २०६२/०६३ को आन्दोलनमा सरकारले यसैगरि रिङरोड क्षेत्रभित्र कर्फ्यु आदेश जारी गर्दा रिङरोड बाहिरको मुख्य नाकाहरूमा विरोध प्रदर्शन भएको थियो। कलंकी, सामाखुसी, चाबहिल, कोटेश्वर क्षेत्रमा प्रदर्शनकारी भेला भएका थिए।
अहिले पनि सोही शैलीमा रिङरोड नजिकको चोकमा प्रदर्शनकारी भेला भएर सोमबारको घटनाको विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरू मुख्य दलका नेताको निवास केन्द्रित भएका छन्। उनीहरूले मुख्य दल एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको कार्यालयमा तोडफोड गरिरहेका छन्।
प्रदर्शनकारीहरूले मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीमा रहेको घरमा आन्दोलनकारीले आगजनी गरे। माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारमा रहेको निवास प्रदर्शनकारीले तोडफोड गरेको छ।
प्रदर्शनकारीहरूले रौतहटको चन्द्रपुर नगरपालिका कार्यालयमा आगो लगाइदिएका छन्। सर्लाहीमा रहेको एमाले र कांग्रेसका पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगो लगाइदिएका छन्। प्रदर्शनकारीहरूले मलंगवामा रहेको पार्टी कार्यालयमा आगो लगाइदिएका हुन्।
प्रदर्शनकारीहरूले कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले प्रदेशसभा सचिवालय नजिकै रहेको देवकोटा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। उता सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। उनीहरूले मुख्यमन्त्रीको सरकारी गाडी तोडफोड गरेका छन्।
मधेसमा समेत बानेश्वर नरसंहार विरुद्ध प्रदर्शन सुरु भएको छ। प्रदर्शनकारीहरूले मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा ढुंगामुढा गरेका छन्।
भदौ २४, २०८२ मंगलबार ११:५५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।