बानेश्वर नरसंहारमा भारतको पहिलो प्रतिक्रिया- नजिकबाट नियालिरहेका छौँ, कर्फ्यूलाई समेत नोट गरेका छौँ

बानेश्वर नरसंहारमा भारतको पहिलो प्रतिक्रिया- नजिकबाट नियालिरहेका छौँ, कर्फ्यूलाई समेत नोट गरेका छौँ

काठमाडौं : काठमाडौंको बानेश्वरमा जेन-जी आन्दोलनमा भएको रक्तपातपूर्ण दमन र १९ युवाको हत्यापछि छिमेकी मुलुक भारतले पहिलो पटक औपचारिक प्रतिक्रिया दिएको छ।

नयाँ दिल्लीले नेपालमा विकसित घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै सबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ।

भारत सरकारले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै युवाहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ।

‘हिजोदेखि नेपालमा विकसित घटनाक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं र धेरै युवाहरूको ज्यान गएकोमा हामी गहिरो दुःख व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मृतकका परिवारप्रति हाम्रो समवेदना छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’

भारतले सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन र कुनै पनि मुद्दालाई शान्तिपूर्ण माध्यम र संवादबाट सम्बोधन गर्न आग्रह गरेको छ।

भारतले काठमाडौं लगायत नेपालका विभिन्न शहरहरूमा लगाइएको कर्फ्यूलाई समेत नोट गरेको जनाएको छ। विज्ञप्तिमा नेपालमा रहेका भारतीय नागरिकहरूलाई सतर्कता अपनाउन र नेपाली अधिकारीहरूले जारी गरेका दिशानिर्देशहरूको पालना गर्न सल्लाह दिइएको छ।

बानेश्वरमा भएको दमनमा १९ जनाको मृत्युपछि राजधानी लगायत देशका विभिन्न भागमा कर्फ्यू र निषेधाज्ञाका बावजुद पनि प्रदर्शन जारी छ।

सत्तारुढ गठबन्धनभित्रैबाट मन्त्रीहरूले राजीनामा दिएका छन् भने प्रधानमन्त्रीको राजीनामा माग भइरहेको छ।

भदौ २४, २०८२ मंगलबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।