‘हामीलाई बालेन चाहिन्छ’ भन्दै अर्घाखाँचीमा रास्वपा कार्यालय तोडफोड

काठमाडौं : काठमाडौंमा भएको नरसंहारपछि देशव्यापी रूपमा फैलिएको जेन-जी आन्दोलनले अब निशानामा सत्तारुढ दलहरू मात्र नभई प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत परेको छ।
अर्घाखाँचीमा युवाहरूको एक समूहले रास्वपाको पार्टी कार्यालयमा तोडफोड गरेको छ। प्रदर्शनकारीहरूले ‘हामीलाई बालेन चाहिन्छ’ भन्दै नारा लगाएका थिए।
उनीहरूले रास्वपाको भूमिकामाथि प्रश्न उठाउँदै काठमाडौंका मेयर बालेन शाह जस्तो स्वतन्त्र र जुझारु नेतृत्व खोजेको सन्देश दिएका छन्।
प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारको दमनविरुद्ध सशक्त भूमिका खेल्न नसकेको भन्दै युवाहरूले रास्वपाप्रति पनि आक्रोश पोखेको देखिन्छ।
रास्वपाले बानेश्वर घटनाबारे छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। तर, बैठकले कुनै ठोस निर्णय नलिँदै उसकै पार्टी कार्यालयमाथि आक्रमण भएको छ।
हिजो काठमाडौंमा भएको दमनपछि आज देशका विभिन्न भागमा स्वतःस्फूर्त प्रदर्शन भइरहेका छन्।
काठमाडौंमा कर्फ्यू तोडेर प्रदर्शन भइरहेको छ, नेताहरूका घरमा आक्रमण र आगजनी भएका छन् भने रुपन्देही जस्ता जिल्लामा निषेधाज्ञा तोडेर प्रदर्शन भइरहेको छ।
भदौ २४, २०८२ मंगलबार ११:३०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।