काठमाडौं नरसंहारको आक्रोश रुपन्देहीमा : प्रदर्शनकारीद्वारा निषेधाज्ञा तोड्दै सैनामैना नगरपालिका घेराउ

बुटवल : काठमाडौंमा जेन-जी आन्दोलनमा बर्बर प्रहरी दमनबाट १९ युवाको ‘हत्या’को विरोधको आगो रुपन्देहीमा पनि फैलिएको छ।
जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोड्दै जेन-जी युवाहरूले आज सैनामैना नगरपालिकाको कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन्।
बिहानैदेखि प्रदर्शनमा उत्रिएका युवाहरूको समूहले नगरपालिका कार्यालयलाई चारैतिरबाट घेराउ गर्दै सरकारको दमनकारी नीतिको कडा शब्दमा विरोध गरेको हो।
उनीहरूले ‘हत्यारा सरकार मुर्दावाद’, ‘मान्छे मार्न पाइँदैन’ जस्ता नारा लगाउँदै स्थानीय तहमा नगरप्रमुखविरुद्ध समेत नाराबाजी गरेका थिए।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज बिहान ९:३० बजेदेखि जिल्लाभर ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। तर, सरकारी आदेशको अवज्ञा गर्दै युवाहरू सडकमा उत्रिएपछि प्रशासनको आदेश पूर्ण रूपमा असफल भएको छ।
आन्दोलनमा सहभागी युवाहरूले जिल्लाका अन्य विभिन्न ठाउँमा पनि जम्मा भएर प्रदर्शनको तयारी भइरहेको बताएका छन्।
हिजो काठमाडौंमा भएको नरसंहारले देशभरका युवालाई आक्रोशित बनाएको छ। काठमाडौं उपत्यकामा कर्फ्यू र रुपन्देही जस्ता प्रमुख शहरमा निषेधाज्ञा लगाएर आन्दोलन दबाउने सरकारी प्रयासका बाबजुद युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिरहेका छन्।
भदौ २४, २०८२ मंगलबार ११:१४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।