बानेश्वर नरसंहारपछि कांग्रेसको शेखर पक्षका दुई मन्त्रीले दिए राजीनामा

बानेश्वर नरसंहारपछि कांग्रेसको शेखर पक्षका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं : जेनजी आन्दोलनमा १९ युवाको बर्बर ‘हत्या’को विरोधमा सत्तारुढ गठबन्धनभित्र विद्रोह सुरू भएको छ।  सरकारमा सहभागी नेपाली कांग्रेसको शेखर कोइराला पक्षका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

कृषि मन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आन्दोलनमा भएको दमनलाई कारण देखाएर राजीनामा दिएका हुन्।

यो कदम पार्टीका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल बाहिरिनुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेलगत्तै आएको हो।

पार्टीले औपचारिक रूपमा कुनै निर्णय गरिनसकेको अवस्थामा कोइराला पक्षका मन्त्रीहरूले राजीनामा दिएर सरकारमाथि चर्को नैतिक र राजनीतिक दबाब बढाएका छन्।

सोमबार सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले चरम दमन गर्दै १९ जनाको हत्या गरेको थियो। यो घटनापछि सरकारको चौतर्फी आलोचना भइरहेको छ।

१९ जनाको ‘हत्या’पछि सरकारले काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा कर्फ्यू र निषेधाज्ञा जारी गरेको छ।

तर, सरकारी आदेशलाई तोड्दै आज बिहानैदेखि राजधानीका सडकहरूमा टायर बालेर प्रदर्शन भइरहेको छ भने आक्रोशित भीडले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी समेत गरेको छ।

यस्तो गम्भीर परिस्थितिमा मुख्य सत्ता साझेदार दल एमाले भने मौन बसेको छ।

भदौ २४, २०८२ मंगलबार ११:०४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।