कर्फ्यू तोड्दै काठमाडौंका चोक-चोकमा टायर बालेर प्रदर्शन

काठमाडौं : प्रहरीको चरम गर्दै १९ युवाको ‘हत्या’पछि सरकारले लगाएको अनिश्चितकालीन कर्फ्यूलाई तोड्दै राजधानी काठमाडौं बिहानैदेखि अशान्त बनेको छ।
जेनजी युवा तथा अन्य आक्रोशित प्रदर्शनकारीहरूले शहरका मुख्य चोक-चोकमा टायर बालेर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालयले आज बिहान ८:३० बजेदेखि चक्रपथभित्र लागू गरेको कर्फ्यूका बावजुद कलङ्की, बल्खु, कालीमाटी, सिनामंगल, जमल लगायतका दर्जनौं स्थानमा विद्यार्थी तथा प्रदर्शनकारीहरूले सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका छन्।
उनीहरूले ‘हत्यारा सरकार मुर्दावाद’, ‘दमन बन्द गर’, ‘सेनापुलिस लिपुलेक जा, संसद भवन हामीलाई दे’ जस्ता नारा लगाइरहेका छन्।
राजधानीका सडकहरूमा छरिएर र स्वतःस्फूर्त रूपमा भइरहेका यी प्रदर्शनहरूले सुरक्षा निकायलाई समेत नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ। यद्यपि बानेश्वरबाट केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ठाउँ-ठाउँबाट निस्किएको धुवाँको मुस्लो र नाराबाजीले राजधानीको माहोल अशान्त बनेको छ भने स्थिति थप तनावपूर्ण बन्दै गएको छ। सोमबारको बर्बर दमनपछि नागरिकको आक्रोश थप चुलिएको छ।
हिजोको नरसंहारले सिर्जना गरेको शोक र आक्रोशको आगो आज राजधानीका सडकहरूमा टायरको रूपमा बलिरहेको छ।
यसैबीच प्रमुख प्रतिपक्षी दलहरू र सत्तारुढ गठबन्धनभित्रैबाट समेत प्रधानमन्त्रीको राजीनामा माग भइरहेको छ, जसले सरकारमाथि सडक र सदन दुवैतिरबाट चौतर्फी दबाब बढाएको छ।
भदौ २४, २०८२ मंगलबार १०:३२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।