विपक्षी दलहरूको ठहर- ‘यो बर्बर दमन हो, प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ’

विपक्षी दलहरूको ठहर- ‘यो बर्बर दमन हो, प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ’
फाइल तस्बिर

काठमाडौं : बानेश्वरमा जेन-जी आन्दोलनमा भएको रक्तपातपूर्ण दमनको भोलिपल्ट, प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा आज बिहान बसेको विपक्षी दलहरूको बैठकले सरकारले नागरिकमाथि गरेको दमनलाई ‘इतिहासकै सर्वाधिक बर्बर’ भन्दै प्रधानमन्त्रीको राजीनामा मागेको हो।

बैठकपछि निर्णयबारे जानकारी गराउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘यो सम्पूर्ण घटनाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएर राजीनामा दिनुपर्दछ। यो सरकारी रबैया अस्वीकार्य छ।’

विपक्षी दलहरूको संयुक्त बैठकले सोमबारको घटनामा सरकारले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारमाथि क्रुरतापूर्वक प्रहार गरेको र निहत्था युवाहरूको हत्या गरेको ठहर गरेको छ।

बैठकले जेन-जी युवाहरूले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा र भ्रष्टाचार नियन्त्रण जस्ता जायज मागहरूलाई सरकारले तत्काल सम्बोधन गर्न पनि आग्रह गरेको छ।

साथै, यो स्वतःस्फूर्त युवा आन्दोलनलाई कुनै पनि राजनीतिक दलले आफ्नो निहित स्वार्थमा प्रयोग गर्न नहुनेमा समेत विपक्षी दलहरूले जोड दिएको उप-महासचिव पुनले बताए।

सोमबार सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।

यही घटनालाई लिएर सत्तारुढ गठबन्धनभित्रैबाट समेत सरकारको आलोचना भइरहेका बेला विपक्षी दलहरूको मागले प्रधानमन्त्री ओलीमाथि चौतर्फी राजनीतिक र नैतिक दबाब दिइरहेको छ।

भदौ २४, २०८२ मंगलबार १०:१४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।