बानेश्वर नरसंहारपछि फेसबुकमा महामन्त्री थापाको फेसबुक पोस्ट- कांग्रेस सरकारबाट बाहिरिनुपर्छ

काठमाडौं : जेनजी आन्दोलनमा भएको बर्बर दमन र १९ युवाको क्रुर हत्यापछि सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रबाट सरकार ढाल्ने गरी विद्रोहको स्वर उठेको छ।
कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दमनको सम्पूर्ण जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। साथै उनले नेपाली कांग्रेस अब एक दिन पनि यो ‘हत्या’ को साक्षी र साझेदारका रूपमा बस्न नसक्ने भन्दै तत्काल सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन्।
सोमबारको नरसंहारले आफू रातभर सुत्न नसकेको र देश नै शोकमग्न भएको उल्लेख गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ।’
उनले घटनाको सम्पूर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्नेमा जोड दिँदै भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।’
महामन्त्री थापाले आफ्नो पार्टी कांग्रेसको भूमिकामाथि पनि गम्भीर आत्मसमीक्षा गर्दै सरकारबाट बाहिरिनुपर्ने बताएका छन्।
‘अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ’, उनले लेखेका छन्।
आफ्नो यो अडानलाई पार्टीको आधिकारिक निर्णय बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’
हिजो सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।
भदौ २४, २०८२ मंगलबार ०९:५७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।