बानेश्वर नरसंहारपछि उपत्यका प्रहरी प्रमुख फेरिए, एआईजी कार्कीलाई कमाण्ड

बानेश्वर नरसंहारपछि उपत्यका प्रहरी प्रमुख फेरिए, एआईजी कार्कीलाई कमाण्ड

काठमाडौं : जेनजी आन्दोलनका क्रममा १७ जना प्रदर्शनकारीको ज्यान जाने गरी भएको बानेश्वर नरसंहारको भोलिपल्ट, प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ।

सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र ठूलो मानवीय क्षति भएको निष्कर्ष निकाल्दै निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी ओम रानालाई हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई उपत्यका प्रहरीको कमाण्ड सुम्पिएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, सोमबारको घटनामा उपत्यका प्रहरीको कमाण्ड र सुरक्षा रणनीति पूर्ण रूपमा विफल भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

सोही आधारमा डीआईजी रानालाई जिम्मेवारीबाट मुक्त गर्दै उनीभन्दा एक तह माथिका अधिकारी एआईजी कार्कीलाई जिम्मेवारी दिइएको हो।

सोमबार जस्तो संवेदनशील दिनमा काठमाडौं उपत्यकाको प्रहरी नेतृत्व निमित्तको भरमा चलेको थियो। तत्कालीन उपत्यका प्रहरी प्रमुख एआईजी टेकप्रसाद तामाङले अवकाश पाएपछि नयाँ प्रमुख नियुक्त गरिएको थिएन।

सोही कारण डीआईजी ओम रानाले निमित्त प्रमुखको रूपमा कमाण्ड सम्हालिरहेका थिए। नेतृत्वमा रहेको यही रिक्तताले पनि प्रभावकारी सुरक्षा रणनीति बनाउन नसकिएको र ठूलो क्षति भएको विश्लेषण गरिएको छ।

हिजोको घटनामा काठमाडौंमा १७ जनाको मृत्यु र सयौं घाइते भएपछि सरकार र प्रहरी संगठनको चौतर्फी आलोचना भइरहेको छ।

भदौ २४, २०८२ मंगलबार ०९:३४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।