जेन-जी आन्दोलनको प्रभाव : काठमाडौंपछि रुपन्देहीमा पनि निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन रोक

जेन-जी आन्दोलनको प्रभाव : काठमाडौंपछि रुपन्देहीमा पनि निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं : काठमाडौंमा जेनजी आन्दोलनमा भएको रक्तपातपूर्ण दमनपछि सरकारले देशका अन्य प्रमुख शहरहरूमा पनि दमनकारी कदम चाल्न सुरू गरेको छ।

काठमाडौं र भक्तपुरमा कर्फ्यू जारी भएकै दिन, जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज बिहानैदेखि जिल्लाभर ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार, आज बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा लागू हुनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम जारी गरिएको आदेशमा, जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस, र हुलदंगालाई रोकेर शान्ति सुरक्षा कायम गर्न यस्तो कदम चालिएको उल्लेख छ।

निषेधाज्ञा जारी भएसँगै रुपन्देही जिल्लाभर ५ जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कुनै पनि विरोधका कार्यक्रम गर्न पाइने छैन।

यो कदमलाई हिजो काठमाडौंको बानेश्वरमा भएको बर्बर दमन र १९ युवाको मृत्युपछिको स्वाभाविक सरकारी प्रतिक्रियाको रूपमा हेरिएको छ।

हिजो काठमाडौंमा भएको दमनको विरोधमा आज बिहानैदेखि बानेश्वरमा कर्फ्यू तोडेर नागरिकहरू प्रदर्शनमा उत्रिरहेका छन्।

भदौ २४, २०८२ मंगलबार ०९:२१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।