जेनजी आन्दोलनको प्रभाव : काठमाडौंपछि भक्तपुरका मुख्य शहरी क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू

जेनजी आन्दोलनको प्रभाव : काठमाडौंपछि भक्तपुरका मुख्य शहरी क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू

काठमाडौं : काठमाडौंमा जेनजी आन्दोलनमा भएको भीषण दमन र १९ जनाको मृत्युको भोलिपल्ट, भक्तपुरका मुख्य शहरी क्षेत्रहरूमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ।

राजधानीमा भएको नरसंहारको विरोधमा आन्दोलनको आगो भक्तपुरमा सल्कन नदिन र सम्भावित प्रदर्शनलाई निस्तेज पार्न प्रशासनले कर्फ्यू लगाएको हो।

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले आज बिहान ८:३० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको छ।

काठमाडौंको चक्रपथभित्र कर्फ्यू जारी भएकै दिन काठमाडौंसँग सीमा जोडिएको भक्तपुरमा पनि कर्फ्यू लगाइएपछि उपत्यकामा त्रास र सन्नाटाको वातावरण थप गहिरिएको छ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशमा, तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

आदेश अनुसार भक्तपुरका मध्यपुर थिमि, सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाका देहायका संवेदनशील क्षेत्रहरूमा कर्फ्यू लगाइएको छ।

जडिबुटी-राधेराधे-बालकोट-निकोसेरा, पेप्सीकोला क्षेत्र: यसमा जडिबुटीदेखि अरनिको राजमार्ग, पेप्सीकोलादेखि निकोसेरा चोक, कौशलटारदेखि बालकोट चोक, राधेराधेदेखि निकोसेरा चोकलगायतका भू-भाग समेटिएका छन्।

अन्य क्षेत्रहरूमा सल्लाघारी, नगरकोट सडक, कमलविनायक, खरिपाटी, च्यामासिंह, दुवाकोट, नेपाल इन्जिनियरिङ कलेज क्षेत्र र देवकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म रहेका छन्।

हिजो काठमाडौंमा भएको दमनको विरोधमा आज बिहानैदेखि बानेश्वरमा कर्फ्यू तोडेर नागरिकहरू प्रदर्शनमा उत्रिरहेका बेला, उपत्यकाका तीनै जिल्लासहित अन्य जिल्लामा समेत निषेधाज्ञा र कर्फ्यूको दायरा बढाउँदै लगिएको हो।

भदौ २४, २०८२ मंगलबार ०९:११:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।