कर्फ्यूका बीच संसद भवन अगाडि विहानैदेखि सरकारविरुद्ध प्रदर्शन

काठमाडौं : सरकारले लगाएको अनिश्चितकालीन कर्फ्यू र हिजोको बर्बर दमनबाट सिर्जित त्रासलाई चिर्दै, आज बिहानैदेखि काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि नागरिकहरू स्वतःस्फूर्त रूपमा जम्मा हुन थालेका छन्।
उनीहरूले सोमबार भएको १९ जना युवाको हत्याको विरोधमा सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। ‘हत्यारा सरकार मुर्दावाद!’, ‘जनता मार्न पाइँदैन!’, जस्ता नारा लगाउँदै मानिसहरू संसद भवन अगाडिको सडकमा भेला भएका हुन्।
सोमबारको हिंसात्मक घटना र १९ जनाको मृत्युपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज बिहान ८:३० बजेदेखि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। तर, सरकारी आदेशको अवज्ञा गर्दै नागरिकहरू ज्यानको प्रवाह नगरी पुनः प्रदर्शनका लागि बानेश्वर आइपुगेका हुन्।
घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ, जसले गर्दा स्थिति तनावपूर्ण बनेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मी आमनेसामने भएको अवस्था छ, जसले गर्दा कुनै पनि बेला थप अप्रिय घटना घट्न सक्ने आशंका बढेको छ।
हिजोको नरसंहारले शोकमग्न र आक्रोशित बनेका नागरिकहरू आज बदला र न्यायको माग गर्दै सडकमा उत्रिएका हुन्। यो स्वतःस्फूर्त प्रदर्शनले जेनजी आन्दोलनले अब नागरिक आन्दोलनको रूप लिन थालेको संकेत गरेको छ।
भदौ २४, २०८२ मंगलबार ०८:२८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।