बानेश्वरमा नरसंहार मच्चाउन लालमोहर लगाउने प्रजिअद्वारा काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश

काठमाडौं : जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने गरी भएको बानेश्वर नरसंहारको भोलिपल्ट, सरकारले काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज बिहान ८:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरेको हो।
प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जारी गरिएको आदेशमा, चक्रपथभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
आदेश अनुसार काठमाडौं महानगरपालिकाको चक्रपथ क्षेत्रभित्रको सम्पूर्ण भू-भागमा कर्फ्यू लागू हुनेछ। जसमा बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भाग पर्नेछन्।
प्रशासनले कर्फ्यूको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरूलाई भने चल्न दिने स्पष्ट पारेको छ। आदेश अनुसार, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक बोकेका सवारी साधन, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई छुट दिइएको छ। साथै, हवाई टिकटको आधारमा यात्रा गर्ने हवाई यात्रुहरूको आवतजावतलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्नेछन्।
सोमबार बानेश्वरमा भएको हिंसात्मक प्रदर्शन र सरकारको चरम दमनपछि यो अवस्था आएको हो। सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरू भएको शान्तिपूर्ण आन्दोलनले उग्र रूप लिँदा प्रदर्शनकारीले संसद भवनको सुरक्षा घेरा तोड्ने, आगजनी गर्ने, एम्बुलेन्स र मानव अधिकार आयोगको गाडी जलाउने जस्ता अराजक गतिविधि गरेका थिए।
सोमबारको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर काठमाडौंमा १७ सहित १९ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए। यी तिनै प्रमुख जिल्ला अधिकारी हुन् जसले नयाँ बानेश्वरमा नरसंहार मच्चाउन लालमोहर लगाएका थिए।
भदौ २४, २०८२ मंगलबार ०८:१५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।