बानेश्वर ‘नरसंहार’पछि प्राज्ञ ज्ञवालीद्वारा प्रधानमन्त्री ओलीले बोलाएको बैठक बहिष्कार, भने- ‘जनहत्याराको अनुहार हेर्दा बान्ता आउँछ’

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ दीपक ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बैठक बहिष्कार गरेका छन्।
तर, बानेश्वरमा जेनजी आन्दोलनमा भएको भीषण दमन र १९ युवाको हत्यापछि उनले प्रधानमन्त्री ओलीलाई ‘जनहत्यारा’ को संज्ञा दिएर उनको अनुहार हेर्दा ‘बान्ता आउने’ भन्दै बैठकमा नजाने घोषणा गरेका हुन्।
नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्राज्ञ सभा बोलाएका थिए।
तर, प्राज्ञ ज्ञवालीले बैठकमा सहभागी नहुने निर्णय गर्दै सामाजिक सञ्जाल एक्समा लेखे, ‘हिजोको राज्य आतंक पछि त्यहाँ गएर वाक स्वतन्त्रता मास्ने जनहत्याराको अनुहार नजिक बाट हेर्नु पर्दा वाकवाक लागेर बान्तै आउने डरले नजाने निर्णय गरेँ!’
सोमबार सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनमा सरकारले चरम दमन गर्दा १९ जनाको मृत्यु भएको थियो भने चार सयभन्दा बढी घाइते भएका थिए। कलेजको पोशाकमै सडकमा आएका निहत्था युवामाथि राज्यले गरेको दमनको चौतर्फी आलोचना भइरहेको छ।
भदौ २४, २०८२ मंगलबार ०७:४८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।