सोमबार बदलिएको नयाँबानेश्वर : शान्तिपूर्ण प्रदर्शनदेखि नरसंहार स्थलसम्म

सोमबार बदलिएको नयाँबानेश्वर : शान्तिपूर्ण प्रदर्शनदेखि नरसंहार स्थलसम्म

काठमाडौं : भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गराएको विरोधमा युवा पुस्ताले आव्हान गरे अनुसार सोमबार बिहानैबाट प्रदर्शनकारीहरू माइतीघरमा भेला हुन थालेका थिए। माइतीघरमा नौ बजेबाटै कलेजको ड्रेसमै युवाहरू भेला हुन थालेका थिए। उनीहरू आफ्नो मागहरू लेखिएको प्लेकार्ड लिएर उपस्थित भएका थिए। सरकारलाई आफ्नो आवाज सुनाउन उनीहरू उत्साहित थिए।

भेला भएकाहरू आफ्नै सुरमा नारा लगाइरहेका थिए। केही राष्ट्रिय झण्डा फहराउँदै 'गाउँ गाउँबाट उठ' गाइरहेका थिए। प्रदर्शनकारीहरु थपिदै गइरहेका थिए।

-सरकारको निर्णयविरुद्ध कलेज ड्रेसमै सडकमा उत्रिए ‘जेन जी’

१० : ४५ तिरै प्रदर्शनकारीहरू राष्ट्रिय झन्डा हल्लाउँदै ‘गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ’ जस्ता राष्ट्रभक्ति गीत गाउँदै सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएर माइतीघरबाट नयाँबानेश्वरतिर आइरहेका थिए। 

प्रदर्शनकारीहरूले बोकेका प्लेकार्डमा ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’, ‘हामीलाई बोल्न देऊ सरकार’ र ‘स्टप करप्सन’ जस्ता नारा लेखिएका थिए।

-सडकमा ‘जेन जी’को विद्रोह : माइतीघरमा बढ्दै भीड, नयाँबानेश्वरतर्फ अघि बढ्यो मार्च

प्रदर्शनमा सहभागी अधिकांशले आफूहरू पहिलोपटक प्रदर्शनमा सहभागी भएको बताएका थिए। सामाजिक सञ्जालमार्फत व्यवसाय गरेर आत्मनिर्भर बनिरहेका युवाहरूको रोजीरोटी सरकारले खोसेको उनीहरूको भनाइ थियो।

उनीहरुले प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, रुख-बिरुवा नभाँच्ने, आगजनी वा तोडफोड नगर्ने र सभ्य भएर प्रस्तुत हुने बताइरहेका थिए।

-१७ तस्बिरमा ‘जेन जी’को प्रदर्शन
शान्तिपूर्ण आन्दोलन गर्ने बताएको प्रदर्शनकारीहरुमध्ये केही भने प्रहरीको ब्यारिकेट तोड्दै प्रतिनिधि सभा भवनतिर अगाडि बढे। उनीहरूले अन्तिममा रहेको फलामे ब्यारिकेट समेत तोडेर निषेधित क्षेत्रमा प्रवेश गरेपछि रोक्न प्रहरीले पानीको फोहराले हान्यो, सामान्य रूपमा लाठी चार्ज गर्यो अनि टियर ग्याँस समेत प्रहार गर्न थाल्यो। तर प्रदर्शनकारीहरू रोकिएनन्। उनीहरू संसद् भवनतिर अगाडि बढ्दै चारैतिरबाट घेर्न थाले।

-सबै ब्यारिकेड तोडेर संसद भवनको गेटमा पुगे जेनजी प्रदर्शनकारी, प्रहरीद्वारा अश्रुग्यास प्रहार

एकाएक प्रदर्शन अनियन्त्रित भयो। केही प्रदर्शनकारी संसद् परिसरको पर्खाल नाघेर भित्र छिरे। केहीले गेटमा ढुंगामुढा गर्न थाले। केहीले त गेट नजिकै रहेको सुरक्षा जाँच गर्ने एक तले भवनभित्र आगो नै लगाइदियो। केही भवनमाथि चढेर प्रहरीलाई ढुंगा हान्न थाले। प्रहरीले प्रदर्शनकारीहरूलाई संसद् भवनभित्र नछिर्न हात जोडेर अनुरोध गरिरहेको थियो। तर उनीहरू मानिरहेका थिएनन्। 

अनि प्रहरीले बल प्रयोग सुरु गर्यो। लगत्तै सोमबार सामाजिक सञ्जालमार्फत युवा पुस्तालाई विरोध प्रदर्शनका लागि नयाँ बानेश्वर बोलाएको समूहले नै प्रदर्शनकारीहरूलाई घर फर्कन आग्रह गर्यो।

-बानेश्वरमा जेनजी प्रदर्शन अनियन्त्रित : संसद भवनको गेटमा आगजनी, घर फर्कन आयोजकको आग्रह

कार्यक्रमको आयोजना गर्ने जेनजी पुस्ताले आफ्नो उमेर समूहकाहरुलाई मात्र आन्दोलनमा आउन आग्रह गर्दै प्रदर्शनकारी चिन्न सहज होस् भनेर सबैलाई आफ्नो कलेज ड्रेसमै प्रदर्शनस्थलमा आउन आग्रह गरेको थियो। केही आएका पनि थिए। तर अधिकांश आ-आफ्नै पोसाकमा थिए। केही मुखमा मास्क र हेलमेटसहित आन्दोलनमा थिए। केही हुडी शैलीको कपडासहित मुख छोपिने गरी मुखमा मास्क लगाएर उपस्थित भएका थिए।

आन्दोलन हिंसात्मक भएपछि आयोजकले घर फर्कन आग्रह गरेपछि कलेज पोसाकमा आएका अधिकांश घर फर्किए। अन्य प्रदर्शनकारीहरू त्यहीँ बसे। अनि केही छिनमै गोली चलेको अनि केही व्यक्ति घाइते भएको घटनाहरू आउन थाल्यो। बिस्तारै प्रदर्शनस्थल रणमैदान बन्दै गयो।

-'राप्रपा, रास्वपा र प्रसाईँ समूहले भाँड्यो' जेनजीको ‘शान्तिपूर्ण’ आन्दोलन, मुखमा मास्क र हेलमेट लगाउनेले बनाए उग्र
 

केही प्रदर्शनकारी गोली लागेर घाइते भएको सूचनाहरू आइरहेकै समय एकाएक जिल्ला प्रशासन कार्यालयले नयाँबानेश्वर क्षेत्रमा कर्फ्यु लगाउने निर्णय गरे। साढे १२ बजेबाट कर्फ्यु लाग्ने सूचनामा भनिएको थियो। साढे १ बजे सिभिल अस्पतालमा उपचारका लागि लगिएका एक प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भयो। सिभिल अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीले नै यसको पुष्टि गरेका थिए। यो घटनासँगै घाइतेहरूको संख्या बढ्दै गएर एक सय हाराहारी पुग्यो। यसमा गम्भीर घाइतेहरू पनि थिए।

उता नयाँबानेश्वरमा भने प्रदर्शन जारी नै थियो। कर्फ्यु लागेर सडकमा सेना आइसक्दा पनि केही प्रदर्शनकारीहरू भने सडकमा उभिएर प्रदर्शन जारी नै राखेका थिए।

-जेनजी पुस्ताको आन्दोलनमा एक जनाको मृत्यु, ९० बढि घाइते सिभिल अस्पतालमा

संसद् भवन परिसरभित्र प्रहरी अनि परिसर बाहिर रहेका प्रदर्शनकारीबिच झडप जारी थियो। सेना सडकमा आइसकेको थियो। तर प्रदर्शनकारीहरूले कर्फ्युको उलङ्घन गरेर सडकमा बसेर नारा लगाइरहेका थिए। गोली चलिरहेको थियो अनि घाइतेको संख्या बढिरहेको थियो। एक जनाको मृत्युको समाचारले नै तरङ्ग ल्याएकोमा त्यो संख्या ५-७ हुँदै बेलुकासम्ममा १९ पुग्यो।

-जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ जना घाइते उपचार हुँदै

मृतकको संख्या बढ्दै गएपछि घटनाबारे राजनीतिक दलहरूबाट विरोध सुरु भयो। एमालेकै नेताहरूले समेत घटना आकस्मिक नभएर नियोजित भएको दाबी गरे। आकस्मिक रूपमा बसेको कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागियो। सोमबारै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक राखेका थिए।

गृहमन्त्री लेखकले त्यही बैठकमा प्रधानमन्त्रीलाई राजीनामा दिए। मन्त्रिपरिषद्ले नै सोमबारको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठनको निर्णय गर्यो।

-गृहमन्त्री लेखकले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्रीलाई बुझाए राजीनामा

सोमबारको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरू सडकमा रहेसम्म कम बल प्रयोग गरेको खुल्यो। तर जब उनीहरू प्रतिनिधि सभाको भवनभित्र छिर्न थाले, संसद् भवनको पर्खाल भत्काउने प्रयास सुरु गरे अनि आगजनी गरे त्यसपछि प्रहरीले अधिक बल प्रयोग गरेको देखियो।

चैत १५ मा सुरक्षा रणनीतिमा भएको चुककै कारण २ जना मारिएको र अर्बौँ रकम बराबरको क्षति भएको खुलेको थियो। त्यही बेलामा नै तीनकुने घटनाबारे छानबिन गर्न माग उठेको थियो। तर सरकारले राजावादी आन्दोलन भनेर वास्तै गरेन र त्यस्तै गल्ती सोमबार गर्दा १९ जनाको ज्यान गयो।

-संसद्को गेटमा नरसंहार

आयोजक र समर्थकहरु घर फर्किए पनि एक समूह प्रदर्शनस्थलमै बसिरहेको थियो। झडप जारी थियो। उता अस्पतालहरुमा बेलुका साढे आठ बजेसम्म पनि घाइते ल्याउनेक्रम रोकिएको थिएन। प्रदर्शनकारीहरु ज्यान जोगाउन अस्पताल परिसरभित्र बसेपछि प्रहरीले अस्पतालको संवेदनशिलता समेत नबुझी अस्पताल परिसरमै अश्रृग्याँससम्म हानेको थियो।

-अस्पतालभित्रै गोली र अश्रुग्याँसको गोला

भदौ २४, २०८२ मंगलबार ०१:०१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।