अस्पतालभित्रै गोली र अश्रुग्याँसको गोला

अस्पतालभित्रै गोली र अश्रुग्याँसको गोला

काठमाडौँ: सोमबार जेनजीको रूपमा परिचित युवा पुस्ताको आव्हानमा नयाँबानेश्वरमा भएको प्रदर्शन एकाएक हिंसात्मक बन्दा १९ जनाको ज्यान गयो, देशभर ४ सय २२ जना घाइते भए।

शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन जब प्रतिनिधि सभा भवन केन्द्रित भयो अनि एकाएक हिंसात्मक घटनामा बदलियो। त्यसको प्रभावले नयाँ बानेश्वर क्षेत्र दिनभर रण मैदानजस्तै बन्यो।

सुरक्षाकर्मीले गोली चलाउँदा घाइते भएकाहरूलाई प्रदर्शनकारीहरूले उद्धार गर्दै नजिकै रहेको सिभिल अस्पताल लगिरहेका थिए। घाइतेहरूलाई उनीहरूले एम्बुलेन्स, मोटरसाइकल जे भेटिन्छ त्यसैमा राखेर सिभिल अस्पताल पूर्याइरहेका थिए। एक बजेबाट सुरु भएको यो क्रम सोमबार बेलुका साढे आठ बजेसम्म उस्तै थियो।

बेलुका साढे आठ बजेसम्म उकेराकर्मी सिभिल अस्पतालमा रहँदासम्म घाइते ल्याउने र उपचारका लागि अन्यत्र लैजानेक्रम चलिरहेकै थियो। बिरामी बोक्न आएका एम्बुलेन्सको सिसा फुटेर त्यो पनि घाइतेजस्तै देखिन्थ्यो।

बाहिरको सडकमा प्रदर्शन जारी थियो। भित्र बिरामीको चापले अस्पताल पनि रणमैदान समानै थियो। स्वास्थ्यकर्मीहरू आत्तिएका थिए घाइतेको संख्या देखेर।

उकेराकर्मी करिब साढे एक बजे सिभिल अस्पताल पुग्दा अस्पतालको आकस्मिक कक्ष र आकस्मिक कक्षसँगै रहेको भुईँतला पुरै घाइतेले भरिएको थियो।

रक्ताम्मे भएका घाइतेलाई आकस्मिक कक्ष भित्र छिराउन भ्याइनभ्याइ थियो। बेडको अभावमा अस्पतालको भुईँमा नै म्याट ओछ्याएर स्वास्थ्यकर्मी र चिकित्सकहरू छटपटाइरहेका घाइतेको उपचार गरिरहेका थिए।

त्यहीँ गोली लागेका घाइतेको गोली निकालिरहेका थिए। टाउकोमा चोट लागेकालाई ब्यान्डेज गरिरहेका थिए। केही घाइते बेडमा थिए, केही भुईँको म्याटमा अनि केही त बेन्चमा।

आकस्मिक उपचारका लागि सुविधाको दृष्टिकोणमा त्यति सम्पन्न अस्पताल हैन सिभिल। तर त्यही अस्पतालमा सबैभन्दा धेरै घाइते ल्याइएको थियो। अस्पतालको अवस्थाले पनि प्रदर्शनमा झडप भएर घाइतेहरू ल्याउलान् भनेर पूर्व तयारी गरेको जस्तो देखिएन।

त्यसैले त भुईँ तलाको खाली भागमा कोही घाइतेलाई बेडको व्यवस्था गरेर राखिएको थियो। रक्ताम्मे भएर छटपटाइरहेका घाइतेलाई पनि बेन्चमा सुताइएको थियो।

अस्पतालको भवनभित्र घाइतेको चाप थियो। उता भवन बाहिरको परिसमा भने प्रदर्शनकारीहरू नाराबाजी गरिरहेका थिए। अस्पताल परिसरभित्रै प्रदर्शनकारीले नारा लगाएपछि अस्पताल क्षेत्रको संवेदनशीलताको समेत ख्याल नगरी एक हुल प्रहरी परिसरमै आएर प्रदर्शनकारीमाथि लाठीचार्ज गरिरहेका थिए।

यति मात्रै हैन, प्रहरीले अस्पताल परिसरको ख्यालै नगरी अश्रुग्याँस समेत हानिरहेको थियो। अश्रुग्याँसको प्रभावले अस्पतालका बिरामी र स्वास्थ्यकर्मी समेत प्रभावित भएका थिए। सिभिल अस्पतालको अवस्था गाँजा क्षेत्रको अस्पतालमा इजरायली सुरक्षा फोर्सले आक्रमण गर्दाको जस्तै दृश्य बनेको थियो।

प्रहरीले चलाएको गोली अस्पताल परिसर भित्र समेत आइपुगेको थियो। धन्न त्यसले कसैलाई लागेन। अस्पतालको सिसामा लाग्यो।

सोमबार बेलुकीसम्म पनि अस्पतालको प्राङ्गणमा निस्कन कठिन थियो। अस्पतालका सुरक्षा गार्डले प्रदर्शनकारीलाई गेट बाहिर रोक्न सक्ने अवस्था थिएन। उनीहरू भित्र आएपछि प्रहरीले अस्पताल हो भनेर अश्रुग्याँस हान्न छाडेका थिएनन्।

प्रहरीसँगै प्रदर्शनकारीहरूले समेत आफू अस्पतालको परिसरभित्र रहेको ख्याल गरेनन्। उनीहरूले अस्पताल परिसर भित्रबाटै प्रहरीलाई ढुंगा हानिरहेका थिए। अनि प्रहरीले पनि उनीहरुतिरै ढुंगा फ्याँकिरहेको थियो।

बाहिर कर्फ्यु लागिसकेको थियो। प्रहरी सडकमा थिए। त्यसैले बेलुकासम्म पनि प्रदर्शनकारीहरू अस्पताल परिसरमै थिए। बाहिर निस्कन पाएका थिएनन्।

उता अस्पतालको आकस्मिक कक्षमा पनि उस्तै भिड। चिकित्सकहरूले सम्भव भएसम्मका घाइतेहरूको उपचार गरिरहेका थिए। गम्भीर प्रकृतिको देखिए उनीहरूले कसैलाई ट्रमा सेन्टर पठाइरहेका थिए। केही घाइते एभरेस्ट लगायतका अस्पतालमा समेत थिए।

सिभिलमा भने घाइतेको अत्याधिक चाप थियो। त्यहीँ घाइते भएर आएका तीन जना प्रदर्शनकारीको मृत्यु भइसकेको थियो।

अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मी घाइतेको चापका कारण मंगलबार ओपिडी र नियमित गरिने शल्यक्रिया समेत रोकेर घाइतेको उपचार गर्ने बताइरहेका थिए।

उनले बेलुकासम्म ९० जना घाइते अस्पतालमा भर्ना भएको र अस्पतालको आइसियुदेखि भेन्टिलेटरसम्ममा पनि घाइते नै रहेको जानकारी दिए।

उता राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले बेलुकासम्म ८ जना पुरुषको मृत्यु भएको जानकारी दिए। यसमा तीन जना अस्पताल नपुर्याउँदै, एक जना आइसियुमा र बाँकीको आकस्मिक कक्षमा मृत्यु भएको उनले बताए।

ट्रमाका मृतकहरूमा १९ देखि ३० वर्षको उमेर समूहका रहेको उनले बताए। ट्रमासँगै शिक्षण अस्पतालमा समेत घाइते लगिएको थियो। सिनामंगलमा रहेको नेपाल मेडिकलमा समेत घाइते राखिएको थियो।

गम्भीर अवस्थामा जति घाइते अस्पताल आइपुगेका थिए ती अधिकांशलाई गोली लागेको थियो। यसले नयाँ पुस्ताको आन्दोलनमा सुरक्षाकर्मीले अधिक बल प्रयोग गरेको देखियो।

भदौ २४, २०८२ मंगलबार ००:१८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।