भिजिट भिसामा जोगिएका गृहमन्त्री लेखकको जेनजीको प्रदर्शन सम्हाल्न नसक्दा पद गयो

भिजिट भिसामा जोगिएका गृहमन्त्री लेखकको जेनजीको प्रदर्शन सम्हाल्न नसक्दा पद गयो

काठमाडौँ : भिजिट भिसामा रकम असुल्न संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयकै कर्मचारीलाई पक्राउ गरेदेखि नै रमेश लेखक गृहमन्त्रीको पदबाट राजीनामा दिने दबाबमा थिए। प्रतिपक्षी दलहरूले रकम असुल्न संलग्न हुनसक्ने भन्दै छानबिनको माग गर्दै निरन्तर संसद् बहिष्कार गरिरहे पनि उनले राजीनामा दिएनन्।

आफू आर्थिक अपचलनमा संलग्न नरहेको भन्दै निरन्तर प्रतिवाद गरिरहे। उनलाई राजीनामाको दबाबबाट जोगाउन सरकारले छानबिन समिति समेत गठन गर्यो। तर राप्रपा र रास्वपाका सांसदहरूले माग नछाडी संसद् बैठक बहिस्कार गरिरहे। उनी पदमा अडिगै रहे।

सोमबार युवा पुस्ताको आयोजनामा भएको विरोध प्रदर्शनमा १९ जनाको ज्यान गएपछि भने उनले नैतिकताको आधारमा राजीनामा बुझाए। सोमबार जेनजी भनिने युवाहरूले आयोजना गरेको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर १९ जनाको मृत्यु अनि ३ सय बढी घाइते भएपछि नेपाली कांग्रेसभित्रैबाट उनलाई राजीनामा दिन दबाब बढेको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका मन्त्रिपरिषद्को बैठक समेत राखेका थिए। लेखकले त्यही बैठकमा गृहमन्त्रीको पदबाट राजीनामा दिए। 

सोमबारकै मन्त्रिपरिषद् बैठकले नयाँबानेश्वर प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न समिति गठन गर्ने समेत निर्णय गरेको छ।

भदौ २३, २०८२ सोमबार २०:४०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।