संसद्को गेटमा नरसंहार

संसद्को गेटमा नरसंहार
तस्विर : दिपेश श्रेष्ठ

काठमाडौं : आन्दोलनमा घाइते भएर अस्पताल पुग्नेहरूमा अधिकांश प्रहरीको लाठी प्रहारबाट घाइते भएकाहरू हुन्थे। तर सोमबार युवा पुस्ताले घोषणा गरेको आन्दोलनमा घाइते भएर अस्पताल पुग्ने अधिकांशलाई गोली लागेको छ। त्यो पनि संवेदनशील स्थानमा। कसैको टाउकोमा गोली लागेको छ त कसैको घाँटीमा।

मृतकको संख्या र घाइतेहरूको अवस्थाले सोमबारको प्रदर्शन नियन्त्रणमा प्रहरीले भिड नियन्त्रण विधिमा पर्ने, छेक्ने, रोक्ने, पानीको फोहरा प्रयोग गर्ने, लाठी हान्ने अनि अश्रृग्याँसको प्रयोग भन्दा अन्तिम अस्त्र गोली प्रहारको अधिक प्रयोग गरिएको देखियो।

जेनजीको रूपमा परिचित युवा पुस्तामध्ये एक समूहले नौ बजे बानेश्वर क्षेत्रमा र अर्को समूहले माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए। त्यही अनुसार बिहान ९ बजेबाट बानेश्वरको एभरेस्ट होटल अगाडि सानो सङ्ख्यामा प्रदर्शनकारीहरू भेला भएका थिए। उता माइतीघरमा साढे १० बजेबाट प्रदर्शनकारीहरू भेला भएर शान्तिपूर्ण रूपमा नाराबाजी गर्न थालेका थिए। माइतीघरमा भेला हुने प्रदर्शनकारीहरूमा कलेजको ड्रेसमै आएकाहरूको संख्या समेत बाक्लै थियो।

प्रदर्शन शान्तिपूर्ण रूपमा अगाडि बढ्दै जाँदा समर्थकहरू पनि बढ्दै गए। बिस्तारै आयोजकको आव्हान अनुसार कलेजको ड्रेसमा आएका भन्दा अन्यको संख्या नै धेरै हुँदै गयो। नाराबाजी उग्र हुँदै गयो भने केही प्रदर्शनकारीले आपत्तिजनक नारा लेखेका प्लेकार्ड समेत बोकेका थिए।

साढे ११ बजेतिरबाट प्रदर्शनकारीहरू माइतीघरबाट नयाँबानेश्वर क्षेत्रतिर जाने प्रयासमा लाग्यो। प्रदर्शनकारीलाई रोक्न ठाउँ ठाउँमा ह्युमन ब्यारिकेट (लाठी र ढाला बोकेका प्रहरी) उभिएका थिए। प्रदर्शनकारीहरू अगाडि बढ्न खोज्दा उनीहरूले सामान्य रूपमा रोक्ने प्रयास गर्थे। तर लाठी हान्ने लगायतका बल प्रयोग गरेका थिएनन्।

प्रहरीले बल प्रयोग नगरेपछि प्रदर्शनकारीहरू सहजै बिजुलीबजारहुँदै एभरेस्ट होटेल अगाडिसम्म पुगे। एभरेस्ट होटल अगाडि पनि प्रहरीको ह्युमन ब्यारिकेट राखियो। ह्युमन ब्यारिकेटमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य धकेलाधकेल भएसँगै सहजै प्रदर्शनकारी अगाडि बढेर अन्तिम फलामे ब्यारिकेटमा पुगेका थिए।

फलामे ब्यारिकेट निषेधित क्षेत्रमा प्रवेश गर्नबाट रोक्ने अन्तिम सुरक्षा विन्दु थियो। त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच केही समय धकेलाधकेल भयो। तर यस अगाडिको प्रदर्शनमा अन्तिम ब्यारिकेटमा सुरक्षा बलबाट जुन स्वरूपको बल प्रयोग हुन्थ्यो त्यहाँ त्यो प्रकारको बल प्रयोग भएन।

प्रहरीले हल्का लाठी चार्ज गर्यो। लामो समय ब्यारिकेटको  सुरक्षा कायम हुन सकेन। ब्यारिकेट भत्किएसँगै प्रदर्शनकारीहरू चारैतिरबाट नयाँबानेश्वर चोकतिर लागे। बानेश्वर चोकतिर लागेपछि भने पानीको फोहरा र टियरग्याँसको प्रयोग भएको थियो। तर त्यसले प्रदर्शनकारीलाई रोक्न सकेन। बानेश्वर चोकमा पुगेका प्रदर्शनकारीमध्ये केही त्यहीँ बसे, कोही मिनभवनतिर लागे। कोही पुरानो बानेश्वरतिर जानेतिर। उनीहरू छरिएर संसद् भवनलाई टार्गेटमा पारेका थिए।

पुरानोबानेश्वरतिर लागेका प्रदर्शनकारीहरू संसद् भवनको पश्चिम गेटतिर लागे। उनीहरूले सडकमा राखेको बार भत्काए। एक समूह संसद् भवनको गेटमा हान्न थाले, अर्को समूह गेटमा सुरक्षा पासका लागि बनाएको एक तले भवनको तल्लो तला फुटाएर आगजनी गर्नतिर लागे। अर्को समूह त्यही भवनको छतमा चढे।

अन्य स्थानबाट समेत संसद् भवनको पर्खाल चढेर भवनभित्र छिर्न सक्नेहरू जति भित्र छिरे। पश्चिम गेटबाट छतमा चढेकाहरू पनि हाम फालेर संसद् भवनभित्र छिरेपछि प्रहरीले भित्रबाट अश्रुग्याँससँगै गोली समेत चलाएको थियो। संसद् भवनभित्र प्रहरीको स्पेसल टाक्सफोर्ससँगै सशस्त्र प्रहरीको टोली समेत थियो।

उनीहरूले प्रारम्भमा संसद्को पश्चिमी गेट अगाडि भेला भएका प्रदर्शनकारीहरूलाई लाठी हान्ने र पानीको फोहोरा हान्नेसँगै अश्रुग्याँस समेत हानेका थिए। तर प्रदर्शनकारीहरू तितरबितर हुनुको साटो थप भेला भएर संसद् भवन भित्र छिर्ने प्रयास थाले।

प्रदर्शनकारीहरू संसद् भवन परिसरभित्र छिर्न पर्खालमा गल लगाएर प्वाल समेत पार्न थालेपछि प्रहरीको थप बल संसद् भवनभित्र पुगेको थियो। पहिला नमस्कार गरिरहेका थिए प्रहरी। संसद् परिसर बाहिर प्रदर्शनकारीहरू र भित्र सुरक्षाकर्मी भए। संसद् भवन छिर्न खोज्नेलाई गोली हानिरहेका थिए सुरक्षाकर्मी।

प्रदर्शन हिंसात्मक भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर साढे १२ बजेबाट नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेसँगै कार्यक्रमको आयोजना गरेका युवा समूहले सबैलाई घर फर्कन आग्रह गरे। कलेजको ड्रेसमा प्रदर्शनस्थल पुगेकाहरू घर फर्किए। तर अन्य प्रदर्शनकारीहरू त्यहीँ बसे।

प्रदर्शनकारी र प्रहरीबीच झडप जारी रह्यो। सरकारले सेना परिचालनको निर्णय गरेको दुई घण्टासम्म पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनकारीहरू थिए। उनीहरूले सेनाको गाडी घेर्ने, राष्ट्रिय मानव अधिकार आयोगको गाडी पल्टाउने गरिरहेका थिए।

गृह प्रशासन असफल

शनिवार बेलुकाबाट सामाजिक सञ्जाल विशेष गरेर टिकटकमा सोमबार बिहान ९ बजे नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने प्रचार सुरु भयो। आइतबार समय ११ बजे भनेर प्रचार सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो।

बैठकले जुन समूहले सामाजिक सञ्जालमा आन्दोलनको प्रचार गरिरहेको छ उनीहरू असङ्गठित रहेकाले जोखिम बढ्न सक्ने, अन्य समूहसहित प्रतिपक्षी दलहरूका समेत सहभागी हुनसक्ने आङ्कलन गरिएको थियो। बैठकमा सहभागी स्रोतका अनुसार युवा समूह कलेजको ड्रेसमा कार्यक्रममा सहभागी हुने घोषणा गरेकाले न्यूनतम मात्र बल प्रयोग गर्ने निर्देशन भएको थियो। प्रहरी र सशस्त्रले त्यही अनुसार सुरक्षा तयारी गरेका थिए।

तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा प्रदर्शनकारीहरू बागमती पुल पारी उकालोमा राखिएको फलामे ब्यारिकेट पुग्न नपाउँदै पानीको फोहरा र अश्रृग्याँस प्रहार भएको थियो। तर सोमबार सडकमा सुरक्षाकर्मीको व्यवहार हेर्ने हो न्यूनतम बल प्रयोग भएको देखिन्छ। प्रदर्शनकारी अगाडि बढेर निषेधित क्षेत्र तोडेर अगाडि बढ्दा समेत सामान्य लाठी चार्ज भएको थियो। पानीको फोहराले हानिएको थियो। जबकि निषेधित क्षेत्र तोड्ने प्रयासमा सबैभन्दा धेरै बल प्रयोग हुने गरेको थियो भने झडप र घाइतेहुनेक्रम पनि त्यहीँबाट सुरु हुन्थ्यो।

तर यस पटक जब प्रदर्शनकारीहरू संसद् भवनलाई घेरेर पर्खाल नाघ्दै भित्र छिर्न थाले, पर्खाल चढेर संसद् भवन परिसरको सुरक्षाको सेन्ट्रीका लागि राखिएको पोस्टहरू चढे त्यसपछि प्रहरीबाट सिधै गोली प्रहार हुन थाल्यो। जसको परिणाम मृतकको संख्या त बढ्यो नै घाइते हुनेहरूको अवस्था पनि गम्भीर रह्यो।

यसले जब सुरक्षाकर्मीबाट गोली चल्न थाल्यो त्यो बेलामा भिड नियन्त्रणको प्रोटोकल भन्दा दङा नियन्त्रणको विधि अपनाउँदै गोली प्रहार भएको देखिन्छ। भिड नियन्त्रण विधि अपनाएर गोली चलाएको अवस्थामा घुँडामुनि गोली लाग्नु पर्ने हो। तर अधिकांश मृतक र गम्भीर घाइतेलाई शरिरको संवेदनशील स्थानमा गोली लागेको छ।

अधिकांश प्रदर्शनकारी संविधान सभा भवन वरपर नै घाइते भएको र सुरक्षाकर्मी संविधान सभा भवन परिसर भित्र रहेकाले गोली भित्रबाटै चलेको देखिन्छ। यसले संविधान सभा भवन परिसरभित्र प्रदर्शनकारी छिर्न थालेपछि सुरक्षाकर्मीले यसलाई दंगामा गर्ने व्यवहार अनुसार बल प्रयोग गरेको देखिन्छ।

शान्तिपूर्ण तयारी कसरी बदलियो हिंसामा ?

आइतबारै एक समूहले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनका लागि अनुमति मागेपछि शान्तिपूर्ण प्रदर्शन गर्ने सर्तमा स्थानीय प्रशासनले अनुमति दिएको थियो। सोमबारको विरोध प्रदर्शनमा सहभागी हुनेबारे सामाजिक सञ्जालमा पनि शान्तिपूर्ण रूपमा भेला हुन आव्हान गरेका थिए।

विरोध प्रदर्शनमा बाहिरी घुसपैठको जोखिम देखेर उनीहरूले जेनजी पुस्तालाई कलेज पोसाकमा आउन आग्रह गरेका थिए। विध्यार्थीहरु प्रदर्शनमा आउँदा बल प्रयोग गरे अन्तर्राष्ट्रिय रूपमै गलत सन्देश जाने भनेरै सरकारले नरम नीति लिएको थियो।

तर आइतबारबाटै युवा पुस्ताको आन्दोलनलाई बिटुलाउने प्रयास सुरु भइसकेको थियो। चैत १५ को अराजक प्रदर्शनबाट बदनाम दुर्गा प्रसाईँले आफू आन्दोलनमा सहभागी हुने घोषणा गरिदिए। उनलाई आन्दोलनमा नआइदिन एक समूह उनकै घरमा अनुरोध गर्न पुगे। तर त्यो तस्बिरलाई प्रसाईँले दुरुपयोग गरेर आफ्नो समर्थन लिन आएको रूपमा अपव्याख्या गरेर सामाजिक सञ्जालमा राखे।

राजतन्त्र फर्काउन पटक-पटक आन्दोलन गरेर असफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एक समूह सोमबार घोषित आन्दोलन आफूहरूको नेतृत्वमा भएको भन्दै सामाजिक सञ्जालमा क्रेडिट लिन सक्रिय भइसकेको थियो। प्रतिपक्षमा रहेका दलहरूले आन्दोलनमा समर्थन मात्र जनाएनन् राष्ट्रिय स्वतन्त्र पार्टीले लिखित रूपमा आफ्ना नेता तथा कार्यकर्ताहरूलाई आन्दोलनमा सहभागी हुन भन्यो। बालेन शाह, हर्क साङपाङ समूहको प्रभाव समेत देखियो आन्दोलनमा। 

सोमबारको आन्दोलनमा यी सबै समूह मिसिएका थिए। सुरक्षा रिपोर्टलाई आधार मान्ने हो भने सोमबारको आन्दोलनमा दुर्गा प्रसाईँ, हर्क साम्पाङ , बालेन, रास्वपा र राप्रपाले समूह कमान्डर तोकेरै समर्थकहरु परिचालन गरेको थियो।  

प्रारम्भमा अन्तिम ब्यारिकेट नतोडेसम्म आयोजकहरुको उल्लेख्य उपस्थिती देखिन्थ्यो। जब अन्तिम ब्यारिकेट तोडेर प्रदर्शनकारीहरु संसद भवनतिर अगाडि बढे अन्य ब्यक्तीहरु नै हावी भएको देखियो। प्रदर्शनकारीलाई संसद् भवनको गेटमा लगेर संसद् परिसरमा छिर्न उक्साउने, संसद् भवनको गेटमा रहेको भवनमा चढ्ने, ढुंगा हान्ने र आगो लगाउन संलग्नहरुको समूह हेर्ने हो भने अधिकांशले मुखमा मास्क र हेलमेट लगाएको देखिन्छ।

चैत १५ को आन्दोलनसँग यसलाई जोडेर हेर्ने हो भने प्रसाँई समर्थकहरूले प्रदर्शन हिंसात्मक बनाएपछि आफ्नो पहिचान लुकाउन यस्तै शैली अपनाउने गरेको देखिन्छ। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको भातृ संगठन यङ कम्युनिस्ट लिगकाहरु पनि समूहगत रूपमै प्रदर्शनमा देखिएका थिए।

आन्दोलन हिंसात्मक भएपछि आयोजकको तर्फबाट पनि घुसपैठ भएको दाबीसहित विज्ञप्ति जारी भयो। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङको दाबी पनि त्यही देखियो। तर आन्दोलनमा घुसपैठ भएको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पनि राज्यकै हो। घुसपैठको विकल्पमा गोली हानेर नागरिकको ज्यान लिनु निरंकुशताको चरित्र हो, लोकतान्त्रिक सरकारको हैन। 

सोमबारको घटनापछिको सुरक्षा विश्लेषणका अनुसार कार्यक्रमको मुख्य आयोजकहरूले शान्तिपूर्ण नै गर्ने तयारी गरेका थिए। तर यसरी आफ्नो स्वार्थसहित प्रदर्शनमा मिसिएका मुख्य गरी प्रसाईँ, राप्रपा र माओवादीसहित रास्वपाका समर्थकहरू हिंसात्मक घटनामा संलग्न रहेको देखिन्छ।

जब विरोध प्रदर्शनको आयोजना हुन्छ त्यो यस्तै प्रकृतिको हुन्छ भनेर एकिन गर्न सकिन्न। त्यसैकै लागि राज्यको सुरक्षा संगठनले सम्भावित अवस्थाको पूर्वानुमान गरेर प्रदर्शन हिंसात्मक बन्न नदिन विभिन्न सुरक्षा रणनीति बनाउने गर्छ।

गत चैत १५ मा तीनकुनेमा भएको विरोध प्रदर्शन नियन्त्रण गर्न सुरक्षा सङ्गठनबाट यस्तै पूर्वानुमानमा आधारित सुरक्षा रणनीति निर्माण र त्यसको कार्यान्वयन नहुँदा हिंसात्मक' भएको खुलेको थियो। चैत १५ को सुरक्षा प्रवन्ध गर्ने सुरक्षा कमाण्डर र परिचालन गर्ने एकै हुन्। तर उनीहरुले चैत १५ को घटनाको विश्लेषण गरेको सोमबारको घटनाले देखाएन।

यस अगाडि बानेश्वर क्षेत्रमा हुने आन्दोलनमा प्रहरीले निषेधित क्षेत्र तोड्न दिँदैनथ्यो। प्रदर्शनकारी त्यो विन्दुमा नपुगेसम्म प्रदर्शन शान्तिपूर्ण हुन्थ्यो, निषेधित क्षेत्र तोड्न खोजे झडप हुन्थ्यो। सोमबारको प्रदर्शनको सुरक्षा रणनीति बनाउँदा पनि सुरक्षा सङ्गठनले कि निषेधित क्षेत्र तोड्नै नदिने रणनीति कार्यान्वयन गर्नुपर्थ्यो कि निषेधित क्षेत्र तोडे पनि बल प्रयोग नगर्ने नीति लिएपछि संसद् भवन परिसर भित्र र बाहिरको सुरक्षा घेरा कसिलो बनाउन सक्नुपर्थ्यो।

तर सुरक्षा रणनीतिमा सुरक्षा नेतृत्वले पून हचुवापन देखाएको देखियो। उनीहरूले सडकमा भएको प्रदर्शनमा कम बल प्रयोग त गरे तर सम्भावित जोखिम मूल्यांकन गरेर संसद् भवनको बाहिरी र भित्री सुरक्षा घेरा बलियो बनाउने रणनीति बनाएको देखिएन। 

त्यसैको परिणाम प्रदर्शनकारी संसद् कब्जा गर्ने शैलीमा संसद परिसरभित्र सहजै प्रवेश  गर्न सके। रणनीतिहिन सुरक्षाकर्मी आत्तिएर प्रदर्शनमा सहभागीहरुमाथि एक्कासि अधिक बल प्रयोग गर्दा १९ वर्षका किशोरसहित १९ जनाको ज्यान गयो।  

भदौ २३, २०८२ सोमबार २०:१५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।