रास्वपाले माग्यो प्रधानमन्त्री राजीनामा

रास्वपाले माग्यो प्रधानमन्त्री राजीनामा
Filephoto

काठमाडौं : सरकारले जेनजी आन्दोलनमाथि गरेको दमनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा आपत्ति जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै रास्वपाले निहत्था युवामाथि सरकारकै निर्देशनमा भएको गोली प्रहार र हत्या अमानवीय तथा अलोकतान्त्रिक भएको भन्दै भर्त्सना गरेको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रूर राजनीतिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको आक्रमणका विरुद्ध युवापुस्ताले शान्तिपूर्ण ढंगले आन्दोलन थालेको भए पनि सरकारले बर्बर दमन गरेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको औचित्य समाप्त भइसकेको छ, त्यसैले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ।’ 

पार्टीले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्रीसहित दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। साथै नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्वमा रहेको वर्तमान संसद् राष्ट्रिय मुद्दा समाधान गर्न असफल भएको भन्दै ताजा जनादेश (अर्ली इलेक्सन) को माग पनि गरिएको छ।

रास्वपाले आन्दोलनमा ज्यान गुमाएका जेनजी आन्दोलनकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था तत्काल गर्न आग्रह गरेको छ। विज्ञप्तिअनुसार आगामी कदम तय गर्न पार्टी सचिवालय बैठक निरन्तर जारी छ।

भदौ २३, २०८२ सोमबार १८:३३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।