
मानव अधिकार आयोगको निष्कर्ष : प्रहरीले अत्यधिक बल प्रयोग गर्यो, तत्काल बन्द गर्न निर्देशन

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा प्रहरीले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकाल्दै त्यसलाई तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको छ।
दर्जनौंको मृत्यु र सयौं घाइते हुने गरी भएको हिंसात्मक घटनापछि आयोगले एक विज्ञप्ति जारी गर्दै सरकारलाई पछिल्लो पुस्ताको आवाजप्रति गम्भीर बन्नसमेत आग्रह गरेको छ।
आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा, काठमाडौं लगायत देशका विभिन्न सहरमा भएको प्रदर्शनको अनुगमन गर्दा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोलीसमेत प्रहार गरेको पाइएको उल्लेख छ।
‘प्रहरीको गोली लागी दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरू घाइते भएको जानकारी प्राप्त भएको छ’, विज्ञप्तिमा भनिएको छ। आयोगले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
आफ्नै टोलीमाथि आक्रमण
विडम्बनापूर्ण रूपमा, मानव अधिकार उल्लंघनको अवस्था अनुगमन गर्न खटिएको आयोगको आफ्नै सवारी साधन र अनुगमन टोलीमाथि समेत प्रदर्शनकारीबाट हिंसात्मक आक्रमण भएको आयोगले जनाएको छ।
सरकारलाई आयोगले प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न र थप क्षति हुन नदिन, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गर्न र घटनाका दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको छ।
साथै, आयोगले प्रदर्शनकारीलाई पनि आफ्ना प्रदर्शनहरू शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन जिम्मेवार हुन अनुरोध गरेको छ। लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजलाई समयमै पहिचान गरी सम्बोधन गर्नुपर्नेमा प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु तथा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको आयोगको ठहर छ।
भदौ २३, २०८२ सोमबार १८:०२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।