
एमाले नेतृ तिमिल्सिनाद्वारा बानेश्वर घटनाको निन्दा- ‘यो भवितव्य होइन, निहत्था बालबालिकाको हत्या हो’

काठमाडौं : जेनजी आन्दोलनमा भएको दमन र दर्जनौं युवाहरूको मृत्युलाई लिएर सत्तारुढ दल एमाले भित्रैबाट चर्को असन्तुष्टि र आक्रोश व्यक्त भएको छ।
एमाले नेतृ उषाकिरण तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत सरकारको कदमको कडा शब्दमा भर्त्सना गर्दै बानेश्वर घटनालाई ‘वितव्य नभई निहत्था बालबालिकाको हत्या’ को संज्ञा दिएकी छन्।
उनले कलेजको पोशाकमै आन्दोलनमा आएका किशोर-किशोरीलाई गोलीले भुट्ने अधिकार शासकलाई कसले दियो भन्दै प्रश्न गरेकी छन्।
‘संसद भवन जलेको मुल्य ५ अर्ब हुन्थ्यो होला, आज १६/१६ जना युवायुवतीको जिन्दगीको मूल्य कस्तो फुली लगाएको? कति बलियो सत्तासिनले तिर्न सक्छ?’ भन्दै नेतृ तिमिल्सिनाले भौतिक संरचनाभन्दा मानव जीवनको मूल्य अतुलनीय हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
उनले देशमा व्याप्त भ्रष्टाचार र नेताहरूको अपारदर्शी जीवनशैलीमाथि पनि गम्भीर प्रश्न उठाएकी छन्।
नेताहरूको ‘रजगज’ को स्रोत खुलाउन चुनौती दिँदै उनले देशमा रोजगारीको अभावले युवाहरूलाई खाडी मुलुकमा पसिना बगाउन बाध्य पारेको यथार्थप्रति शासकहरू बेखबर रहेको टिप्पणी गरेकी छन्।
उनले घटनालाई नियोजित हत्याको संज्ञा दिँदै लेखेकी छन्, ‘आजको बानेश्वर काण्ड कुनै भवितब्य होइन, यो हत्या हो हत्या। निहत्था बाल-बालिकाहरुको हत्या। यो हत्याको बदला समयले तिमीहरुलाई अवस्य लिने छ।’
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरू भएको जेनजीको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउँदा दर्जनौंको मृत्यु भएको थियो।।
भदौ २३, २०८२ सोमबार १७:५०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।