
स्वास्थ्य मन्त्रालयको निर्देशन- ‘आन्दोलनका सबै घाइतेको उपचार निःशुल्क गर्नू’

काठमाडौं : जेनजी आन्दोलनमा प्रहरीको बल प्रयोगबाट दर्जनौंको मृत्यु र सयौं नागरिक घाइते भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी अस्पताललाई घाइतेहरूको निःशुल्क उपचार गर्न आकस्मिक निर्देशन दिएको छ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले आजै मिति २०८२ भदौ २३ गते सबै संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई परिपत्र जारी गरेको हो।
जनस्वास्थ्य प्रशासक बन्दना भट्टद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘आज मुलुकका विभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा घाइते भएका सम्पूर्ण नागरिकहरूको जीउ ज्यानको रक्षाका लागि सबै किसिमका उपचार व्यवस्था गरी यथाशीघ्र उपचार निःशुल्क व्यवस्थापन मिलाउनुहुन अनुरोध छ।’
साथै, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई घाइतेको उपचारमा एकजुट भई खटिन समेत आग्रह गरेको छ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्र रणभूमिमा परिणत भई अस्पतालहरू घाइतेले खचाखच भरिएका बेला मन्त्रालयको यस्तो निर्देशन आएको हो। प्रहरीको गोली लागेर हालसम्म १५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइतेहरू सिभिल, शिक्षण, वीर र ट्रमा सेन्टर जस्ता अस्पतालमा उपचाररत छन्।
अस्पतालहरूमा घाइतेको चाप यति बढेको छ कि आकस्मिक कक्षमा ठाउँ नभएर भुइँमै राखेर उपचार गर्नुपरेको दर्दनाक अवस्था छ।
भदौ २३, २०८२ सोमबार १७:३३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।