जेनजी आन्दोलन : छातीमा गोली लागेका एक युवकको शिक्षण अस्पतालमा मृत्यु, थप तीन जनाको टाउको मुनि गोली

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १५ पुगेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र राष्ट्रिय ट्रमा सेन्टरमा थप एक-एक जनाको मृत्यु भएसँगै मृतकको संख्या बढेको हो।
शिक्षण अस्पतालका डाक्टर गोपाल सेढाइँले अस्पतालमा २१ जना घाइते ल्याइएकोमा एक जनाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार, मृत्यु हुनेमा २० देखि २५ वर्ष उमेरका युवक छन्, जसको छातीमा गोली लागेको छ।
‘अन्य तीन जनाको टाउकोमुनि गोली लागेको छ र उनीहरूको अवस्था गम्भीर छ,’ डा. सेढाइँले उकेरासँग भने, ‘प्रहार भएको गोली रबरको हो वा वास्तविक बुलेट हो भन्नेबारे शल्यक्रियापछि मात्रै यकिन हुनेछ।’
सिभिल अस्पतालमा घाइतेको चाप थेग्न नसकेपछि त्यहाँबाट बिरामीहरूलाई शिक्षण अस्पताल ल्याउने क्रम जारी रहेको पनि उनले जानकारी दिए।
यसअघि ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा छ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। यस्तै सिभिल अस्पतालमा रहेका उकेराकर्मी उपेन्द्र खड्काले तीन जनाको मृत्यु भएको बताएका थिए।
यसका अलावा एभरेष्ट अस्पतालमा तीन जना र काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक जनाको मृत्यु भएको थियो।
बानेश्वरमा प्रदर्शनकारीले संसद भवनको सुरक्षा घेरा तोडेर आगजनी गरेपछि प्रहरीले बल प्रयोग गर्दा यो हताहती भएको हो।
भदौ २३, २०८२ सोमबार १७:२६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।