‘जेनजी आन्दोलन’ले देशका विभिन्न सहरमा तनाव : कहाँ के भयो ?

काठमाडौं : जेनजी आन्दोलनका कारण देशभरका विभिन्न सहरको अवस्था तनावपूर्ण बनेको छ। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीको आव्हानमा भएको प्रदर्शन रक्तपातपूर्ण बन्न पुगेको छ।
प्रहरीले चलाएको गोली लागेर हालसम्म काठमाडौंमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। राजधानीका विभिन्न अस्पतालमा घाइतेहरूको उपचारका क्रममा मृत्यु भएको हो। हेरौं देशभर कहाँ के भयो ?
प्रदर्शनकारी भरतपुर महानगरपालिका कार्यालयमा प्रवेश गर्ने प्रयास गर्दा भिडन्त
चितवनको भरतपुरमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको प्रदर्शन क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। युवाहरूले भरतपुर महानगरपालिका कार्यालयमा प्रवेश गर्ने प्रयास गर्दा प्रहरीसँग भिडन्त भएको हो। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले प्रहरीमाथि हवाई फायर गरेको आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर गरिएको हो। सयौँ संख्यामा रहेका प्रदर्शनकारीले निजी घरका सिसा समेत फुटाएका छन्। सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ।
रुपन्देहीमा कर्फ्यु, कांग्रेसका नेता खाँणको घरमा तोडफोड
रुपन्देहीमा आन्दोलित युवाहरूले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा स्थित घरमा तोडफोड गरेका छन्। घटनापछि रुपन्देही जिल्ला प्रशासनले सुरक्षा अवस्था नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनका अनुसार बुटवल क्षेत्रमा धागो कारखाना पुलदेखि बेलबास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कर्फ्यु जारी गरिएको छ।
त्यस्तै भैरहवामा रोहिणी खोलादेखि बेथरीसम्म, उत्तरमा बुद्धचोकदेखि दक्षिणमा मेउडीहवासम्म कर्फ्यु लागू गरिएको छ। साथै बुटवल–बेलहिया सडकखण्डको दायाँ-बायाँ १०० मिटर क्षेत्रमा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु आदेश जारी गरिएपनि बुटवलमा भने प्रदर्शन जारी छ।
पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी
पोखरामा पनि जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
प्रशासनले पोखरामा सम्भावित झडप, प्रदर्शन र तोडफोड रोक्नका लागि शहीदचोक आसपासका क्षेत्रमा चार किल्ला तोकेर निषेधाज्ञा लागू गरेको जनाएको छ। आदेश उल्लंघन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी समेत दिइएको छ।
इटहरीमा प्रदर्शन उग्र बनेपछि झडप
इटहरीमा प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाइफायर र लाठीचार्ज गरेको छ। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै हवाइफायर गरेको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थिति नियन्त्रण नभए कर्फ्यु आदेश जारी गर्ने तयारी भएको बताएका छन्। प्रहरी अवरोधबीच प्रदर्शनकारीहरू इटहरी उपमहानगरपालिका कार्यालयभित्र प्रवेश गर्नसमेत सफल भएका छन्।
झापाको दमकमा आन्दोलनकारीले एक मोटरसाइकलमा आगजनी गरेका छन्। प्रदर्शनको क्रममा प्रहरीले गोली चलाएपछि प्रदर्शनकारी आक्रोशित बनेका थिए। प्रहरीको गोली लागेर ३ जना घाइते भएका छन्। प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको जनाएको छ। झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।
वीरगन्जको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न
जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन्। करिब दुई सयको संख्यामा आएका प्रदर्शनकारीहरूले घण्टाघरबाट सुरुआत गरी नगरपरिक्रमा गरेका थिए र पुनः घण्टाघरमै पुगेर कोण सभा सम्पन्न गरेका हुन्।
कोण सभामा वक्ताहरूले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने, देशमा मौलाइरहेको भ्रष्टाचार अन्त्य गर्न राज्यले पहल गर्नुपर्ने र युवापुस्तालाई नेतृत्वमा अघि ल्याउनुपर्ने माग राखे। सहभागीहरूले आन्दोलन तबसम्म जारी रहने र परिवर्तन ल्याएरै शिथिल हुने चेतावनीसमेत दिएका थिए।
आन्दोलनलाई लक्षित गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो। सुरक्षाको अवस्था अनुसार रणनीति परिमार्जन गर्ने तयारी भए पनि आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पर्सा प्रहरीले जनाएको छ ।
भदौ २३, २०८२ सोमबार १७:०४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।