१३ जनाको मृत्युपछि सरकार पछि हट्ने सङ्केत, मन्त्री गुरुङ भन्छन्- ‘प्रतिबन्धमा पुनर्विचार हुनसक्छ’

१३ जनाको मृत्युपछि सरकार पछि हट्ने सङ्केत, मन्त्री गुरुङ भन्छन्- ‘प्रतिबन्धमा पुनर्विचार हुनसक्छ’

काठमाडौं : १३ जना प्रदर्शनकारीको ज्यान जाने गरी काठमाडौंको नयाँ बानेश्वरमा भएको हिंसात्मक प्रदर्शनपछि सरकार सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने विषयमा पुनर्विचार गर्न सकारात्मक देखिएको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे केही निर्णय लिन सक्ने सङ्केत गरेका हुन्।

बीबीसी नेपालीसँग कुरा गर्दै मन्त्री गुरुङले प्रदर्शन उग्र बनेपछि र प्रदर्शनकारीले संसद भवन तथा सिंहदरबार नै कब्जा गर्न खोजेपछि सरकार बल प्रयोग गर्न बाध्य भएको तर्क गरे।

उनले आन्दोलनमा घुसपैठ भएको हुन सक्ने आशंका व्यक्त गर्दै शान्तिपूर्ण प्रदर्शनमा सरकारको कुनै आपत्ति नरहेको तर आन्दोलन काबुभन्दा बाहिर गएपछि जेनजीले पनि सोच्नुपर्ने बताए।

मानिसहरूको ज्यान जानु अत्यन्तै दुःखद भएको स्वीकार गर्दै उहाँले भन्नुभयो, ‘मान्छेको मृत्यु हुनु दुःखद कुरा हो। जनताको ज्यानै ठूलो कुरा हो... जे जति खर्च भए पनि मान्छे मर्नु चाहिँ राम्रो हैन।’

सरकारले गरेको निर्णयमा पुनर्विचार गर्नुपर्ने स्थिति बनेमा सरकार कठोर भएर नबस्ने उनको भनाइ थियो।

‘सरकारले गरेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति बन्यो भने त्यो बेला हामी रिजिट भएर बस्नु पनि केही अर्थ छैन नि!’, उनले भने।

आज साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे केही निर्णय लिन सक्ने संकेत उनले गरे। यद्यपि, आफूले मन्त्रालयको तर्फबाट औपचारिक प्रस्ताव नलैजाने तर क्याबिनेटले परिस्थितिको मूल्यांकन गरेर निर्णय गर्न सक्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीको आह्वानमा सुरू भएको शान्तिपूर्ण प्रदर्शन आज दिउँसोदेखि हिंसात्मक बन्न पुगेको थियो।

प्रदर्शनकारीले संसद भवनको पर्खाल तोड्ने, गेटमा आगजनी गर्ने, एम्बुलेन्स र मानव अधिकार आयोगको गाडी जलाउने जस्ता अराजक गतिविधि गरेपछि प्रहरीले गोली चलाएको थियो।

भदौ २३, २०८२ सोमबार १६:५५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।