रणभूमि बन्यो बानेश्वर : जेनजी आन्दोलनमा प्रहरीको गोली चल्दा १३ जनाको मृत्यु

रणभूमि बन्यो बानेश्वर : जेनजी आन्दोलनमा प्रहरीको गोली चल्दा १३ जनाको मृत्यु

काठमाडौं : सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ता (जेनजी) को आव्हानमा भएको प्रदर्शन रक्तपातपूर्ण बन्न पुगेको छ।

प्रहरीले चलाएको गोली लागेर हालसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ। राजधानीका विभिन्न अस्पतालमा घाइतेहरूको उपचारका क्रममा मृत्यु भएको हो।

ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा छ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। यस्तै सिभिल अस्पतालमा रहेका उकेराकर्मी उपेन्द्र खड्काले तीन जनाको मृत्यु भएको बताएका छन्।

यसका अलावा एभरेष्ट अस्पतालमा तीन जना र काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। यद्यपि, अस्पताल प्रशासन र प्रहरीले आधिकारिक रूपमा यो संख्या पुष्टि गर्न बाँकी छ।

शान्तिपूर्ण प्रदर्शन यसरी बन्यो रणभूमि
बिहान नौ बजे माइतीघरमा शान्तिपूर्ण रूपमा भेला भएका हजारौं युवाहरूको जुलुस नयाँ बानेश्वरतर्फ अघि बढेको थियो।

करिब तीन घण्टा शान्तिपूर्ण रहेको प्रदर्शनले तब उग्र रूप लियो जब प्रदर्शनकारीले एभरेष्ट होटल अगाडिको प्रहरी ब्यारिकेड तोडे। प्रत्यक्षदर्शीका अनुसार, मुखमा मास्क र हेलमेट लगाएका केही पाका उमेरका व्यक्तिहरूको नेतृत्वमा फलामे बारसहितको ब्यारिकेड भत्काइएको थियो।

त्यसपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्यो, तर भीड रोकिएन। तितरबितर भएको भीड संसद भवनको पश्चिम गेटतर्फ भेला भई ढुंगामुढा गर्न थाल्यो।

सोही क्रममा एक समूहले गेटसँगै रहेको सुरक्षा जाँच भवनको सीसा तोडेर आगो लगाइदियो भने अर्को समूह पर्खाल नाघेर र भवनको छतमा चढेर संसद जस्तो अति संवेदनशील क्षेत्रभित्र प्रवेश गर्यो।

संसद भवनभित्रबाटै गोली प्रहार, सेना परिचालन
प्रदर्शनकारीहरू सुरक्षा घेरा तोडेर परिसरभित्रै छिरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अधिक बल प्रयोग गरेको थियो।

संसद भवनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले परिसरभित्रबाटै बाहिर रहेका प्रदर्शनकारीमाथि गोली चलाएका थिए। गोली लागेर प्रदर्शनकारीहरू ढल्न थालेपछि स्थिति भयावह बन्यो। घाइते हुनेमा तीन जना पत्रकार समेत छन्।

स्थिति नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गर्यो। तर, कर्फ्यूका बाबजुद प्रदर्शन नरोकिएपछि सेना परिचालन गरिएको थियो। यद्यपि, घटनास्थल पुगेको सेनाको गाडीलाई समेत प्रदर्शनकारीले घेरा हालेर रोकेका छन्।

प्रदर्शनले सबै मानवीय सीमा तोड्दै अराजक मोड लियो जब प्रदर्शनकारीले घाइते बोक्न प्रयोग भइरहेको एम्बुलेन्स र मानव अधिकारको अवस्था अनुगमन गर्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको गाडीमा समेत आगजनी गरे।

झडपपछि सिभिल, वीर र ट्रमा सेन्टर लगायतका अस्पतालहरू घाइतेले भरिएका छन्। सिभिल अस्पतालमा मात्रै सयौं घाइते पुगेका थिए, जहाँ ठाउँ नभएर भुइँमै राखेर उपचार गरिएको थियो। अस्पतालले चाप थेग्न नसकेपछि गम्भीर घाइतेहरूलाई अन्यत्र रेफर गरिएको थियो।

भदौ २३, २०८२ सोमबार १६:३५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।