नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको घरमा तोडफोड

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा-स्थित घरमा आन्दोलित युवाहरूले तोडफोड गरेका छन्। घटनाबारे विस्तृत विवरण अझै आउन बाँकी छ।
स्थिति नियन्त्रणमा लिन रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रसम्म कर्फ्यु लागू गरिएको हो।
बुटवल क्षेत्रमा धागो कारखाना पुलदेखि बेलबास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कर्फ्यु आदेश जारी गरिएको छ। यस्तै भैरहवामा रोहिणी खोलादेखि बेथरीसम्म, उत्तरमा बुद्धचोकदेखि दक्षिणमा मेउडीहवासम्म कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।
त्यसैगरी बुटवल–बेलहिया सडक खण्डको दायाँ–बायाँ १०० मिटर क्षेत्रभित्र पनि कर्फ्यु आदेश लागू गरिएको छ। प्रशासनले अवस्था सामान्य नहुँदासम्म आदेश कडाइका साथ लागू हुने चेतावनी दिएको छ। कर्फ्यु आदेश जारी भएपनि बुटवलमा प्रदर्शन जारी छ।
भदौ २३, २०८२ सोमबार १६:२१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।