
सुरक्षा संवेदनशील क्षेत्र संसद् परिसरमा आगजनी र तोडफोडले आन्दोलनमा धेरै मानवीय क्षति, मृतकको संख्या पाँच

काठमाडौं : प्रदर्शनकारीहरूले सुरक्षाका दृष्टिकोणले ‘उच्च संवेदनशील’ श्रेणीमा रहेको संसद् भवन परिसरभित्रै प्रवेश गर्ने र गेटमा रहेको भवनमा आगजनी गरेर भवन परिसरभित्रै प्रवेश गर्ने प्रयास गर्दा नयाँ पुस्ताको आव्हानमा भएको प्रदर्शन हिंसात्मक बन्यो।
माइतीघरमा भेला भएर नयाँ बानेश्वर एभरेस्ट होटल अगाडि गएर विरोध प्रदर्शन भएको थियो। प्रदर्शन सुरू भएको करिब एक घण्टा शान्तिपूर्ण रहे पनि बिस्तारै प्रदर्शनकारीहरू बल प्रयोग गर्दै अगाडि बढेर एभरेस्ट होटल अगाडि रहेको प्रहरीको ह्युमन ब्यारिकेट तोडेर अगाडि बढेका थिए।
प्रदर्शनकारीहरूलाई रोक्न नयाँ बानेश्वर चोकबाट एभरेस्ट होटल नपुग्दै बिचमा फलामे बारसहितको ब्यारिकेट राखे पनि त्यसले समेत प्रदर्शनकारीहरूलाई रोक्न सकेन।
अधिकांश मुखमा मास्क र हेलमेट लगाएका र जेनजी पुस्ताभन्दा पाका प्रदर्शनकारीहरूको नेतृत्वमा ब्यारिकेट भत्काएर प्रदर्शनकारी नयाँ बानेश्वर चोकतिर लागेपछि प्रहरीले वाटर क्याननबाट पानीको फोहरा फालेको थियो।
त्यसले पनि प्रदर्शनकारी नरोकिएपछि प्रहरीले अश्रुग्याँस हानेपछि उनीहरू तितरबितर भएर पुरानो बानेश्वरतिर लाग्दै संसद् भवनको पश्चिम गेट अगाडि भेला भएका थिए। पश्चिम गेट अगाडि भेला भएकाहरूले सडकको बार भत्काउने, संसद् भवनको गेटमा ढुंगामुढा गर्ने गरेका थिए।
यसैबिच एक समूहले गेटसँगै सुरक्षा जाँचका लागि बनाइएको एक तले भवनको सिसा फोडेर आगो लगाइदिए। अर्को समूह भने त्यही भवनको छतमा चढेर संसद् भवनभित्र प्रवेश गर्ने प्रयास सुरु गरेका थिए। प्रदर्शनकारीहरू संसद् भवनको पर्खाल पार गरेर सुरक्षा घेरा तोडेर भित्रै आएपछि प्रहरीले अधिक बल प्रयोग गरेको थियो।
पछि गोली लागेर प्रदर्शनकारीहरू घाइते हुन थाले। तीन पत्रकारलाई समेत गोली लाग्यो। त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युपछि पनि प्रदर्शनकारीहरू तितरबितर नभएपछि सुरक्षा संवेदनशील भएको भन्दै सेना नै परिचालन गर्नु परेको थियो।
संसद् भवनको परिसरको सुरक्षाको जिम्मा नेपाल प्रहरीको *स्पेसल टाक्स फोर्सको जिम्मामा छ। सुरक्षाको जिम्मेवारी अनुसार उनीहरू पर्खाल वरपर हाइपोइन्ट बनाएर खटिने गरेका छन्। गेटमा समेत उनीहरू तैनाथ हुन्छन्।
जब कर्फ्युको घोषणा भयो नजिकैको सिभिल अस्पतालमा पुग्ने घाइतेहरूको संख्या बढ्न थाल्यो। घाइतेमध्ये केही गोली लागेका थिए। एक जनाको उपचारको क्रममै मृत्यु भयो।
सिभिल अस्पतालको जनशक्तिले मात्र घाइतेको व्यवस्थापन हुन नसक्ने भएपछि गम्भीर रहेका २० जनालाई अन्य अस्पताल पठाइयो। राष्ट्रिय ट्रमा सेन्टर र बीरमा पठाइएकामध्ये चार जनाको मृत्यु भएको दाबी आइरहेका छन्। तर, त्यसको अस्पताल प्रशासन वा प्रहरीबाट पुष्टि भने भइसकेको छैन।
*यस अगाडि सशस्त्र प्रहरी भएकाले सच्याइएको छ।
भदौ २३, २०८२ सोमबार १५:३९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।