
संसद भवनको मूल गेट अगाडि एम्बुलेन्समा आगजनी

काठमाडौं : नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलनमा एम्बुलेन्समा आगजनी भएको छ। आक्रोशित प्रदर्शनकारीको भीडले संघीय संसद भवनको मूल गेट अगाडि रहेको एउटा एम्बुलेन्समा आगजनी गरेको छ।
संसद भवनको गेट अगाडि दन्किरहेको एम्बुलेन्सको आगोको मुस्लोले बानेश्वरको तनावग्रस्त अवस्थालाई थप त्रासदीपूर्ण बनाएको छ। घाइतेहरूलाई अस्पताल लैजान र उपचारका लागि दौडधुप चलिरहेको बेला एम्बुलेन्समाथि आगजनी भएको हो।
यो घटना हुँदा प्रहरी र प्रदर्शनकारीबीच संसद भवन परिसरमा झडप जारी थियो। प्रहरीले रबरको गोली र अश्रुग्याँस प्रहार गरिरहेको थियो भने प्रदर्शनकारीले ढुंगामुढा र आगजनी गरिरहेका थिए।
सोही अराजकताको बीचमा कसले र कुन परिस्थितिमा एम्बुलेन्समा आगो लगायो भन्ने विस्तृत विवरण आउन बाँकी छ, तर यस घटनाले आन्दोलनमा घुसपैठ भएको र स्थितिलाई जानीजानी हिंसात्मक बनाउन खोजिएको आशंकालाई थप बलियो बनाएको छ।
यसअघि नै प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने एक सयभन्दा बढी घाइतेहरूले सिभिल अस्पताल भरिएको छ।
भदौ २३, २०८२ सोमबार १५:१५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।