
जेनजी आन्दोलनमा प्रहरीको गोली चल्दा २ जनाको मृत्यु, घाइतेले भरियो सिभिल अस्पतालको भुइँतला

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पताल (निजामती कर्मचारी अस्पताल) प्रशासनले दुई जना पुरुषको शव अस्पतालमा रहेको पुष्टि गरेको छ।मृत्यु र घाइते हुनेहरूको संख्या अझै बढ्न सक्ने देखिएको छ।
अहिले सिभिल अस्पताल घाइतेहरूले भरिभराउ भएको छ र त्यहाँको अवस्था अत्यन्तै दर्दनाक बनेको छ। अस्पतालको आकस्मिक कक्षमा शय्या अभाव भएपछि प्रहरीको गोली लागेका घाइतेहरूलाई भुइँ र कुर्सीमा राखेर उपचार गरिँदैछ।
अस्पतालमा रहेका उकेराकर्मी उपेन्द्र खड्काका अनुसार, अस्पतालको भुइँ तलामा घाइतेहरूको भीडले खुट्टा टेक्ने ठाउँसमेत छैन। रगतले लतपतिएका युवाहरू पीडाले कराइरहेका छन् भने स्वास्थ्यकर्मीहरूलाई घाइतेको चाप थेग्न हम्मेहम्मे परेको छ।
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरू भएको शान्तिपूर्ण प्रदर्शन बानेश्वरमा प्रहरीसँगको झडपपछि अनियन्त्रित बनेको थियो। प्रदर्शनकारीले संसद भवनको पर्खाल भत्काउने र गेटमा आगजनी गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो।
सुरुमा अश्रुग्याँस, पानीको फोहोरा र रबरको गोली चलाएको प्रहरीले पछि गोली नै चलाएको थियो।
भदौ २३, २०८२ सोमबार १५:०४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।