
बानेश्वरमा समाचार संकलन गरिरहेका पत्रकारमाथि प्रहरीको गोली प्रहार, तीन जना घाइते

काठमाडौं : नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलनको समाचार संकलनका क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर कम्तीमा तीन जना पत्रकार घाइते भएका छन्।
प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गरेको बल प्रयोगको प्रत्यक्ष रिपोर्टिङ गरिरहेका पत्रकारहरू नै निशानामा परेका हुन्।
नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुंगाना र कान्तिपुर टेलिभिजनका क्यामेराम्यान श्याम श्रेष्ठलाई प्रहरीको रबरको गोली लागेको छ।
प्रदर्शनको भिडियो खिचिरहेको अवस्थामा श्रेष्ठलाई गोली लागेको हो। दुवै घाइते पत्रकारलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ।
यसैगरी, नेपाल प्रेसकर्मी उमेश कार्कीलाई पनि गोलीको छर्राले सामान्य चोट लागेको छ। पत्रकार कार्कीले आफ्नो सामाजिक सञ्जालमार्फत आफूलाई सामान्य चोट लागेको र रबरको गोली लागेर केही आन्दोलनकारीहरू पनि घाइते भएको जानकारी दिएका छन्।
जेनजी प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल भत्काउने र आगजनी गर्न थालेपछि स्थिति अनियन्त्रित बनेको थियो। सोही भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस र अन्त्यमा रबरको गोली चलाएको थियो।
भदौ २३, २०८२ सोमबार १३:३८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।