
यसरी भड्कियो ‘जेनजी’ आन्दोलन अनि लाग्यो संसद भवनको गेट नम्बर २ मा आगो (तस्बिरहरू)

काठमाडौं : सरकारविरुद्धको जेनजी आन्दोलनले हिंसात्मक मोड लियो।
प्रहरीसँगको झडपबाट आक्रोशित प्रदर्शनकारीले संघीय संसद भवनको २ नम्बर गेटमा आगजनी गरे। बिहान शान्तिपूर्ण रूपमा सुरू भएको प्रदर्शनले बानेश्वरमा उग्र रूप लिँदै संसद भवन आक्रमणसम्मको अवस्थामा पुग्यो।
जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शनकारी पछि हटेनन्। उनीहरूले संसद भवनको २ नम्बर गेटलाई निशाना बनाए। ढुंगामुढा गर्दै उनीहरूले पहिले गेटसँगैको पर्खाल भत्काउन सुरू गरे। लगातारको प्रहारपछि पर्खालको केही भाग भत्कियो, जसले प्रदर्शनकारीलाई थप उत्तेजित बनायो।
पर्खाल भत्काएपछि प्रदर्शनकारीको समूह गेटको नजिक रहेको सुरक्षा पोष्टतर्फ अघि बढ्यो। प्रहरीले उनीहरूलाई रोक्न रबरको गोली र अश्रुग्याँस प्रहार गरिरहेको थियो, तर भीडको अगाडि उनीहरूको केही लागेन।
सोही क्रममा केही उत्तेजित युवाहरूको समूहले त्यहीँ उपलब्ध सामग्री, भाँचिएका कुर्सीका टुक्रा र प्रदर्शनमा प्रयोग भएका प्लेकार्डहरू जम्मा गरी गेटको सुरक्षा पोष्ट नजिकै आगो लगाए। सानो झुण्डबाट सुरू भएको आगोले केहीबेरमै ठूलो रूप लियो। केहीबेरमै आगोको मुस्लोले गेटको भागलाई छोयो।
आगजनीपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्याँसको प्रयोगलाई थप तीव्र बनाएको छ। यो घटनाले शान्तिपूर्ण भनिएको आन्दोलन पूर्ण रूपमा अनियन्त्रित भएको र यसमा घुसपैठ भएको आयोजकको दाबी छ।
यसैबीच, आन्दोलनको आह्वानकर्ता ‘जेनजी नेपाल’ले भिडमा स्वार्थ प्रेरित समूहले उत्तेजित बनाएको भन्दै सबैलाई तत्काल घर फर्कन आह्वान गर्यो। तर, बानेश्वरको सडकमा अझै पनि तनाव र अनिश्चितता कायमै छ।
भदौ २३, २०८२ सोमबार १३:२३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।