'राप्रपा, रास्वपा र प्रसाईँ समूहले भाँड्यो' जेनजीको ‘शान्तिपूर्ण’ आन्दोलन, मुखमा मास्क र हेलमेट लगाउनेले बनाए उग्र

'राप्रपा, रास्वपा र प्रसाईँ समूहले भाँड्यो' जेनजीको ‘शान्तिपूर्ण’ आन्दोलन, मुखमा मास्क र हेलमेट लगाउनेले बनाए उग्र

काठमाडौं : सरकारले सूचीकृत नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध कलेजको ड्रेसमै शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने युवा पुस्ताको प्रयास राजनीतिक स्वार्थका कारण हिंसात्मक बन्यो।

सामाजिक सञ्जाल हुँदै युवा समूहले सोमबार स्वःस्फूर्त रूपमा विरोध प्रदर्शनको आयोजना गरेका थिए। आन्दोलनमा घुसपैठ हुन नदिन उनीहरूले युवा समूहलाई कलेज ड्रेसमा आन्दोलनमा सहभागी हुन आव्हान गरेका थिए।

आव्हान अनुसार केही प्रदर्शनकारी सोही अनुसार कलेज ड्रेसमै विरोध प्रदर्शनस्थल पुगेका थिए। तर युवाको आक्रोशलाई क्यास गर्न लोभिएको दुर्गा प्रसाँई समूह अनि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी लगायतका दलका समर्थकको घुसपैठका कारण पहिलो दिनमै आन्दोलन हिंसात्मक चरणमा प्रवेश गर्यो।

तीनकुनेमा भेला भएर प्रदर्शनकारीहरू सुरक्षा घेरा तोड्दै संसद् भवन नयाँ बानेश्वर नजिकसम्म पुग्दा पनि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिएनन्। तर जब कलेजको ड्रेसमा नभएका प्रदर्शनकारीहरूले संसद् भवनतिर लागे अनि पानीको फोहरा प्रयोग भएको थियो।

ब्यारिकेट तोड्ने यी को हुन् ?केही समूह संसद भवनतिर लागेर गेटमा आगो लगाउने, गेटमाथि चढेर संसद् भवनभित्रै प्रवेश गर्ने प्रयास गरे त्यसपछि अश्रृंग्याँसहुँदै सुरक्षाकर्मी हवाई फायरको चरणसम्म पुग्यो। पछि गोली नै चल्यो। घाइते र मृतकको संख्याका आधारमा प्रहरीले अधिक गोली चलाएको देखिन्छ।

आन्दोलनमा सहभागीहरूको आधारमा दुर्गा प्रसाईँ समूहका व्यक्तिहरू हिंसा फैलाउने रणनीतिमा रहेको र रास्वपा र राप्रपाका समर्थकहरूले समेत आन्दोलन उग्र बनाउने प्रयासमा रहेको सुरक्षाकर्मीको ब्रिफिङपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसिरहेको जिल्ला सुरक्षा समितिले सम्भावित दुर्घटना र क्षति रोक्न कर्फ्यु आदेश जारी गर्नुपर्ने निष्कर्ष निकाले लगत्तै प्रशासनबाट नयाँबानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भयो।

संसद भवनको गेटमा चढ्दै प्रदर्शनमा गएकाहरु।तीनकुनेमा चैत १५ मा भएको आन्दोलनलाई उग्र बनाउनुमा सुरक्षा सङ्गठनका सदस्यहरूको समेत भूमिका देखिएको थियो। तर सोमबारको आन्दोलनमा सुरक्षाकर्मी निकै संयमित देखिएका थिए। तीनकुनेबाट सुरक्षाकर्मीको ब्यारिकेट तोड्दै उनीहरू नयाँबानेश्वर चोकसम्म पुग्दा समेत अधिक बल प्रयोग भएको थिएन। जब संसद् भवनभित्रै प्रवेश गर्ने प्रयास सुरु भएपछि  सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए।

हातमा राष्ट्रिय झन्डा, मुखमा मास्क अनि हेलमेट लगाएकाहरू संसद् भवनको पश्चिम गेटमा पुगेर गेटमा रहेको एक तले भवनको छतमा चढेका थिए। तल रहेकाहरूले भित्र भवनभित्रै आगो लगाइदिएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्यो। अश्रृग्याँससँगै हवाई फायर गर्दा एक जनाको मृत्यु भयो। सय बढि घाइते भए।

*संसद् भवनको सुरक्षामा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू परिचालित छन्। उनीहरू आधुनिक हतियारसहित बसेका हुन्छन्। प्रदर्शनकारीहरूले सशस्त्रको  सुरक्षा घेरा समेत तोडेर संसद भवनभित्र प्रवेश गरेका थिए। प्रहरीले गोली चलाउन अनुमति लिनुपर्ने कानुनी प्रावधान छ। तर सशस्त्रले अवस्थाको मुल्यांकन गरेर आफैँ गोली चलाउने निर्णय गर्न सक्छ।

आइतबारबाटै चलखेल

जव युवा पुस्ताको आन्दोलन सडकमा पुग्नु अगाडि नै प्रभावशाली देखियो हिंसात्मक आन्दोलनबाट बदनाम भएका दुर्गा प्रसाईँले आफू पनि आन्दोलनमा आउने घोषणा गरेर भाँड्ने प्रयास शुरु गरेका थिए। पछि सोमबार विरोध प्रदर्शनको घोषणा गर्ने युवा समूहका केही प्रतिनिधी उनको घरमा गएर आन्दोलनमा नआउन आग्रह गरे।

प्रसाईँले समूहसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै आफ्नै निर्देशनमा आन्दोलन हुन लागेको भ्रम छरेपछि भेट्न गएकाहरुले आपत्ती जनाएका थिए। प्रहरी स्रोतका अनुसार आन्दोलनमा हेलमेट लगाएर सहभागी अधिकांश दुर्गा प्रसाईँको समूहमा रहेर काम गर्नेहरु देखिएका थिए। 

यो बिचमा राप्रपाका केही युवाहरु आफूहरु आन्दोलनको आयोजक भएको दाबी गर्न थालिसकेका थिए। त्यही बिचमा रास्वपाले आन्दोलनमा समर्थन जनाउँदै आफ्ना नेता र कार्यकर्ताहरुलाई पार्टीको पहिचानबिना आन्दोलनमा सहभागी हुन निर्देशन दियो।

तर आयोजकहरुले पनि आन्दोलन कुनै राजनीतिक उदेश्यका लागि नभएको भन्दै समर्थन गरे पनि आन्दोलनमा सहभागी नहुन र युवा पुस्तालाई कलेजको ड्रेस लगाएर आउन आग्रह गरेको थियो। तर अन्तमा आन्दोलनमा कलेज ड्रेसमा भन्दा आउट ड्रेसका र २८ वर्ष माथिकाहरुको संख्या धेरै थियो। आन्दोलनलाई उग्र बनाउन उनीहरुले नै भुमिका निभाएका थिए।

*अपडेट

भदौ २३, २०८२ सोमबार १३:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।