
बानेश्वरमा जेनजी प्रदर्शन अनियन्त्रित : संसद भवनको गेटमा आगजनी, घर फर्कन आयोजकको आग्रह

काठमाडौं : सरकारविरुद्धको ‘जेनजी’ आन्दोलनले नयाँ बानेश्वरमा हिंसात्मक र अनियन्त्रित रूप लिएको छ।
कर्फ्यू आदेशको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूले संघीय संसद भवनको २ नम्बर गेटमा आगजनी गरेका छन् भने गेटको पर्खाल भत्काइदिएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउन्ड रबरको गोली प्रहार गरेको छ।
एक सुरक्षा अधिकारीका अनुसार, ढुंगामुढा गर्दै पर्खाल भत्काउने र आगजनीमा उत्रिएको भीडलाई तितरबितर पार्न घुँडामुनि ताकेर रबरको गोली हानिएको हो। प्रहरीको बल प्रयोग र प्रदर्शनकारीको आक्रमणका बीच दोहोरो झडप हुँदा एक प्रदर्शनकारी घाइते भएका छन्, जसलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ।
प्रहरीले बल प्रयोग गरे पनि संसद भवन क्षेत्रको सडक प्रदर्शनकारीले आफ्नो नियन्त्रणमा राखेका छन्। संसद भवन प्रवेश गर्ने तीनवटै गेटअगाडि प्रदर्शनकारी हाबी छन् र प्रहरी उनीहरूलाई हटाउन असफल भइरहेको छ।
प्रदर्शनकारीले ढुंगामुढासहित गेटको पर्खाल भत्काएपछि संसद भवनको सुरक्षा व्यवस्था नै धरापमा परेको छ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि आन्दोलनको आह्वानकर्ता मानिएको ‘जेनजी नेपाल’ नामक फेसबुक पेजले तत्काल प्रदर्शनस्थल छाडेर सुरक्षित रूपमा घर फर्कन सबैलाई आह्वान गरेको छ।
पेजमा जारी गरिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला। धेरै स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन्। चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्। हाम्रो आजको दिन सफल भइसकेको छ। आज सबै जना सुरक्षित तरिकाले घर जानुस्।’
यसअघि, प्रदर्शनकारीले संसद भवनभित्र प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो।
भदौ २३, २०८२ सोमबार १२:४८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।