बानेश्वरमा कर्फ्यू आदेश

बानेश्वरमा कर्फ्यू आदेश

काठमाडौं : नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा ‘जेनजी’ प्रदर्शनकारीहरू प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तत्काल लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ।

प्रदर्शन अनियन्त्रित बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आजै दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू लगाएको हो।

प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालद्वारा जारी सूचना अनुसार, कर्फ्यू अवधिभर तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन।

कर्फ्यू लगाइएको क्षेत्र (चार किल्ला):
पूर्व: बानेश्वर चोकबाट मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म।
पश्चिम: बानेश्वर चोकबाट एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म।
उत्तर: बानेश्वर चोकबाट आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म।
दक्षिण: बानेश्वर चोकबाट शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म।

यसअघि, सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको प्रदर्शनले उग्र रूप लिएको थियो। शान्तिपूर्ण रूपमा माइतीघरबाट सुरु भएको आन्दोलन बानेश्वरमा प्रहरीले रोकेपछि तनावग्रस्त बनेको थियो। आक्रोशित प्रदर्शनकारीले सबै प्रहरी ब्यारिकेडहरू तोड्दै संसद भवनको पर्खाल र गेट नाघेर परिसरभित्रै प्रवेश गरेका थिए।

स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले प्रदर्शनकारीलाई हटाउन अश्रुग्याँस, पानीको फोहोरा र हवाइफायरसमेत गरेको थियो। देशको प्रमुख प्रशासनिक केन्द्रमै प्रदर्शनकारी प्रवेश गरेपछि उत्पन्न भएको गम्भीर सुरक्षा स्थितिलाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

कर्फ्यू आदेशसँगै बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति अत्यन्त बाक्लो बनाइएको छ र सर्वसाधारणको आवतजावतमा पूर्ण रोक लगाइएको छ। प्रशासनले तोकिएको समय र क्षेत्रभित्र आदेशको उल्लंघन नगर्न सबैलाई कडा चेतावनी दिएको छ।

भदौ २३, २०८२ सोमबार १२:३७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।