
संसद भवनको गार्ड हाउससको छतमा जेनजी प्रदर्शनकारी, प्रहरीद्वारा अश्रुग्याँस र पानीको फोहोरा प्रहार

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा जारी ‘जेनजी’ प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले व्यापक बल प्रयोग गरेको छ।
संसद भवनतर्फ अघि बढ्न खोज्ने प्रदर्शनकारीको भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको हो।
केही आक्रोशित युवाहरू प्रहरीको गार्ड हाउसमाथि चढेका छन्, जसलाई लक्षित गरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेपछि तनाव सुरू भएको हो। निषेधित क्षेत्र मानिने संसद भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले सुरुमा लाठीचार्ज गरी पानीको फोहोरा प्रयोग गरेको थियो।
तर, भीड पछि नहटेपछि प्रहरीले व्यापक रूपमा अश्रुग्याँस प्रहार गरेको हो, जसका कारण बानेश्वर क्षेत्रमा भागदौड मच्चिएको छ।
प्रहरी दमनका बीच केही युवाहरूले प्रतिकार स्वरूप संसद भवन अगाडि रहेको प्रहरीको गार्ड हाउसको छतमा चढेर नाराबाजी गरेका थिए।
प्रहरीले उनीहरूलाई हटाउन सिधै अश्रुग्याँस प्रहार गरेको थियो। यस घटनाले स्थितिलाई थप तनावपूर्ण बनाएको छ।
सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध आज बिहान माइतीघर मण्डलाबाट युवाहरूको शान्तिपूर्ण प्रदर्शन सुरु भएको थियो।
‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’ र ‘हामीलाई बोल्न देऊ सरकार’ जस्ता नारा लगाउँदै बानेश्वर आइपुगेको जुलुस प्रहरी अवरोधपछि झडपमा परिणत भएको हो।
हाल नयाँ बानेश्वर क्षेत्र पूर्ण रूपमा तनावग्रस्त छ र यातायात आवागमन ठप्प छ। स्थितिलाई नियन्त्रणमा राख्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
भदौ २३, २०८२ सोमबार १२:१९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।