
सबै ब्यारिकेड तोडेर संसद भवनको गेटमा पुगे जेनजी प्रदर्शनकारी, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं : सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको ‘जेनजी’ आन्दोलनले उग्र रूप लिएको छ।
नयाँ बानेश्वरमा लगाइएका सबै प्रहरी ब्यारिकेड तोड्दै हजारौं प्रदर्शनकारी संघीय संसद भवनको मुख्य गेटमै पुगेका छन्। अहिले संसद भवनको गेटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच चर्को घम्साघम्सी चलिरहेको छ।
यसअघि एभरेष्ट होटल अगाडिको पहिलो प्रहरी घेरा तोडेर अघि बढेको आक्रोशित भीडलाई प्रहरीले रोक्ने प्रयास गरे पनि असफल भयो।
त्यसपछि सबै अवरोधहरू पन्छाउँदै प्रदर्शनकारी सिधै संसद भवनको गेटमा पुगेर नाराबाजी गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध चर्का नारा लगाउँदै गेटभित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन्।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षा बल परिचालन गरेको छ र प्रदर्शनकारीलाई पछाडि धकेल्ने प्रयास गरिरहेको छ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र देशमा व्याप्त भ्रष्टाचार र अव्यवस्थाविरुद्ध आज बिहानैदेखि युवाहरू माइतीघर मण्डलामा भेला भएका थिए।
राष्ट्रिय झण्डा बोकेर शान्तिपूर्ण रूपमा नाराबाजी गर्दै अघि बढेको जुलुस बानेश्वरमा प्रहरीले रोकेपछि तनाव सुरु भएको हो।
अधिकांश कलेज र विद्यालयका विद्यार्थी रहेको प्रदर्शन सुरुमा शान्तिपूर्ण हुने भनिए पनि बानेश्वरमा प्रहरी अवरोधपछि यो एकाएक आक्रामक बन्न पुगेको हो।
भदौ २३, २०८२ सोमबार १२:०८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।