जेनजीले तोडे एभरेष्ट होटल अगाडिको प्रहरी घेरा, बानेश्वरमा स्थिति तनावग्रस्त

जेनजीले तोडे एभरेष्ट होटल अगाडिको प्रहरी घेरा, बानेश्वरमा स्थिति तनावग्रस्त

काठमाडौं :  सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित ‘जेनजी’ प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि राखिएको प्रहरीको पहिलो घेरा तोडेका छन्।

घेरा तोडेपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ, जसले गर्दा बानेश्वर क्षेत्रमा स्थिति थप तनावग्रस्त बनेको छ। हजारौंको संख्यामा रहेका प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो।

त्यस क्रममा केही प्रदर्शनकारीले प्रहरीतर्फ पानीको बोतल प्रहार गरेपछि तनाव बढेको थियो। प्रहरीले माइकबाटै उत्तेजित नहुन र शान्तिपूर्ण प्रदर्शन गर्न बारम्बार आग्रह गरे पनि आक्रोशित भीडले प्रहरी घेरा तोडेको हो। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रदर्शनकारीहरूले निरन्तर रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। ‘सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’, ‘हामीलाई बोल्न देऊ सरकार’ र ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ जस्ता नाराले बानेश्वर क्षेत्र गुन्जिरहेको छ।

यसअघि, आज बिहानै काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फूर्त रूपमा भेला भएका हजारौँ युवाहरूले प्रदर्शन सुरु गरेका थिए। राष्ट्रिय झण्डा बोकेका, जसमा अधिकांश कलेज र विद्यालयका विद्यार्थी थिए, उनीहरूको जुलुस माइतीघरबाट नयाँ बानेश्वर आइपुगेको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो आवाज राख्दै आएका र स-साना व्यवसाय चलाइरहेका युवाहरू सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता र रोजीरोटी दुवै खोसिएको भन्दै आक्रोशित छन्। प्रदर्शन काठमाडौंमा मात्र सीमित नभएर रुपन्देही र दाङलगायतका जिल्लाहरूमा पनि फैलिएको छ।

प्रारम्भमा शान्तिपूर्ण हुने भनिएको प्रदर्शन बानेश्वरमा प्रहरीको अवरोधपछि तनावपूर्ण बन्न पुगेको हो। प्रदर्शनका कारण बानेश्वर र आसपासको सवारी आवागमन घण्टौंदेखि पूर्ण रूपमा ठप्प छ।

भदौ २३, २०८२ सोमबार १२:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।